भारतको हैदरावादमा अक्टोबरमा पर्‍यो ११७ वर्षकै बढी पानी, नेपालको मौसम कस्तो रहला ?

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ३ : १२


काठमाडौं । भारतको तेलङगना राज्यमा लगातार परेको पानीले ठूलो क्षति गरेको छ ।

जसमध्ये सबेभन्दा प्रभावित जिल्ला हैदराबाद हो जहाँ तीन दिनदेखि लगातार मुलधारे पानी परिरहेको छ । अहिलेसम् १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हैदरावादमा पछिल्लो २४ घन्टामा १९१ मिलिमिटर पानी परेको छ। भारतीय मौसम विभागका अनुसार अक्टोबर महिनामा परेको यो पानी ११७ वर्षकै सबैभन्दा बढी हो।

केही दिनपहिले बंगालको खाडीमा बनेको शक्तिशाली निम्न चापीय क्षेत्र सर्दै भारतका विभिन्न राज्यमा फैलिएको छ। सुरूमा आन्द्रप्रदेशमा प्रवेश गरेको न्यून चापीय पछि तेलंगना पुगेको थियो।

१२ घन्टासम्म यसअघि कहिल्यै नपरेको पानी परेपछि बुधबार हैदरावादमा सार्वजनिक विदा दिइएको छ।

भारी वर्षाले हैदरावाद र आसपासका क्षेत्रमा बाढी आएको छ। मानिसको घरभित्र पानी पसेको छ भने सवारी साधन बगाएको छ। कैंयौ ठाउँमा बिजुली अवरूद्ध भएको छ।

अहिले उक्त प्रणालीको असर महाराष्ट्र र कर्नाटकामा पनि देखिन थालेको छ। यी राज्यका केही भागमा केही घन्टा लगातार भारी वर्षा हुने भारतीय मौसम विभागले जनाएको छ।

छिमेकी मुलुक भारतको दक्षिणी क्षेत्रमा भारी वर्षा हुँदा त्यसको असर नेपालको मौसममा पर्ला भन्ने प्रश्न आम मानिसले गरिरहेका छन् । यसकालागि मौसम विभागले जारी गरेको आगामी तीन दिनको मौसमी अवस्थाबारे अध्ययन गर्नुपर्ने हुन्छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

असोज २८ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज २९ गते (बिहिबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी प्रदेशमा आंशिक बदलि रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

असोज ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्