कात्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने, अब विदेशी च्यानमा विज्ञापन नआउने

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


काठमाडौं । सरकारले नेपालमा प्रसारण हुने विदेशी च्यानलको हकमा कात्तिक ७ गतेदेखि क्लिन फिड लागू गर्न भनेको छ ।

क्लिन फिड लागू भएपछि विदेशी च्यानहरुले नेपालमा विज्ञापनरहित प्रसारण गर्नुपर्ने हुन्छ ।

विदेशी च्यानलले नेपालमा आफ्नै विज्ञापन प्रसारण गरे च्यान बन्द गर्ने पनि सरकारले चेतावनी दिएको छ ।

संसदीय समितिले यसअघि नै सरकारलाई निर्देशन दिँदै क्लिन फिड लागू भएपछि विदेशी च्यानलमा नेपाली विज्ञापन समेत नराख्न भनिसकेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कात्तिक ७ गतेदेखि नेपालमा क्लिन फिड लागू हुने जानकारी गराएको छ ।

क्लिन फिड लागू गर्ने मिति सार्न इन्डियन ब्रोडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्यूज, नेपाल केबल टेलिभिजन महासंघ लगायत संघ/संस्थाबाट अनुरोध भइ आए पनि कात्तिक ७ गतेदेखि नै लागू गरिने मन्त्रालयका प्रवक्ता एवम् सहसचिव गोकर्णमणि दुवाडीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्