घटस्थापनाको दिनदेखि मैतिदेवी मन्दिर खुल्ने

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  ११ : ४०


काठमाडौं । कोभिड संक्रमणको जोखिमका कारण बन्द मैतीदेवी मन्दिर घटस्थापनाको दिनदेखि खुल्ने भएको छ ।

काठमाडौं उपत्यकाका शक्तिपिठ मध्येको एक मैतीदेवी मन्दीर दशैंको अवसर पारेर खुल्न लागेको हो । उपत्यकामा गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, बंगलामुखी, मैतिदेवी लगायत शक्तिपीठ रहेका छन् ।

मैतिदेवी मन्दिर क्षेत्र प्रवन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले मन्दिर खुला गर्न लागिएको बताए ।

स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी मन्दिर खुल्ला गरिने कपालीको भनाइ छ ।
गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले जानकारी दिए ।

तर सरकारले अन्य धेरै क्षेत्र खुल्ला गरिसके पनि शक्तिपिठहरु खोल्ने कि नखोल्ने भन्ने निर्णय गरिसकेको छैन ।

कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले मन्दिरहरु बन्द गरेको छ ।

यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपिठ र हिन्दुहरुको आराध्यदेव पुशपतिनाथ मन्दिरमा समेत नियमित पूजाबाहेक सबै गतिविधि बन्द गरिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्