पञ्चायतीबाट बलात्कारको घटनामा मिलापत्र गराउने ३ जना धरौटीमा रिहा

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ८ : १६


सप्तरी । पञ्चायती बसेर बलात्कारको घटना लुकाउन भूमिका खेल्ने ३ जनालाई जिल्ला अदालत सप्तरीले जनही १ लाख १० हजार धरौटीमा रिहा गरेको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरी भदौ २६ गते ४ जनाबाट सामूहिक बलात्कारमा परेकी थिइन् ।

घटनाबारे पीडित पक्षले उजुरी गर्न खोजेपछि पञ्चायतीले रोकेर ५५ हजार रुपैयाँमा मिलापत्र गराउन खोजेका थिए । पञ्चायतीले घटनालाई मिलापत्र गराउन खोजेपछि पीडित किशोरीले आत्महत्या गरेकी थिइन् ।

घटनामा संलग्नमध्ये प्रहरीले २ जनलाई पक्राउ गरेको थियो । २ जना अझै फरार छन् । यस्तै, पञ्चायती बसाल्ने १० जनामध्ये प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान सकेपछि सरकारी वकिललाई बलात्कारमा संलग्नविरुद्ध बलात्कार र आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

यस्तै, पञ्चायत बसाल्नेविरुद्ध आत्महत्या दुरुत्साहन र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय सप्तरीले प्रहरीकै सिफारिसअनुसार उनीहरुविरुद्ध मुद्दा चलाएको थियो ।

पञ्चायती गर्नेविरुद्ध आत्महत्या दुरुत्साहन र प्रमाण नष्ट गरेको कसुरमा ५ वर्षसम्मको जेल सजाय मागदाबी गरिएको थियो ।

मुद्दामाथिको थुनछेक आदेश जारी गर्दै न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले बलात्कारमा संलग्न भएको अभियोग लागेका दुवै जना नाबालक भएको पुर्पक्षका लागि बाल सुधार गृहमा पठाउन भनेको छ ।

यस्तै, पञ्चायती गर्ने ३ जनासँग जनही १ लाख १० हजार रुपैयाँ धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न न्यायाधीश ज्ञवालीको इजालाशले आदेश जारी गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले भने जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनारावेदनका लागि निवेदन दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्