अर्नव गोस्वामीविरुद्ध अदालत पुगे बलिउडका तीन खानसहित ३४ कम्पनी

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ११ : ०७


काठमाडौं । भारतीय चलचित्र उद्योग बलिउडका सबैभन्दा ठूला भनिएका निर्माता कम्पनीहरुले केही भारतीय सञ्चारमाध्यम (टिभी) र त्यसका प्रस्तोताविरुद्ध अदालतमा याचिका दायर गरेका छन् ।

अभिनेता सुशान्त सिंह राजपदूतको मृत्युको विषयलाई लिएर गरिएको ‘रिपोर्टिङ’को विषयलाई लिएर बलिउड निर्माताहरुले टिभी च्यानल र त्यसका प्रस्तोताविरुद्ध दिल्ली हाई कोर्टमा मुद्दा दायर गरेका हुन् ।

मुद्दामा अर्नव गोस्वामी र प्रदीप भण्डारी तथा उनको च्यानल रिपब्लिक टिभी, टाइम्स नाउका राहुल रवीशंकर र नविका कुमारविरुद्ध मुद्दा दायर गरिएको छ ।

बलिउडका तीन शीर्ष अभिनेता आमिर खान, शाहरुख खान र सलमान खानसहितका बलिउडका दर्जनौं निर्माता कम्पनीले दायर गरेको रिटमा प्रतिवादी बनाइएका ‘पत्रकार’ तथा टिभी च्यानले गर्ने गरेको रिपोर्टिङ शैलीका सन्दर्भमा कारबाहीको माग गरिएको छ ।

‘प्रतिवादीहरुको हिलो छ्याप्ने अभियानका कारण बलिउडसँग सम्बद्ध मानिसहरुको जीविकामा प्रभाव पारेको छ,’ रिटमा भनिएको छ ।

रिट दायर गर्नेमा तीन खानका अतिरिक्त करण जोहर, अनिल कपुर, विशाल भारद्वाज, अजय देवगन, रोही शेट्टी फिक्चर्स, यशराज फिल्म्स, विनोद चोपडा फिल्म्स, एक्सेल इन्टरटेनमेन्ट लगायत ३४ निर्माता कम्पनी र फिल्म उद्योगसँग सम्बद्ध ४ वटा संगठन छन् ।

‘बलिउडाका सदस्यहरूको निजत्व उल्लंघन गरिएको छ । सम्पूर्ण बलिउडलाई अपराधीको सङ्ज्ञा दिने, सबै दुर्व्यसनी भए जस्तो प्रचार गर्ने र जनमानसमाझ बलिउडसँग जोडिनु भनेको आपराधिक कार्य गर्नु जस्तो गरी व्यवहार गरेर बलिउडका सदस्यहरूको प्रतिष्ठामा अपूरणीय क्षति पुगेको छ,’ अदालतमा दायर गरिएको रिटमा भनिएको छ ।

३४ वर्षीय अभिनेता सुशान्त सिंह राजपूत गत जुन १४ तारिखमा आफ्नै फ्ल्याटमा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानकै क्रममा राजपूतले आत्महत्या गरेको देखिएको प्रहरीले दाबी गरेको थियो ।

तर, परिवारका सदस्यले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले आत्महत्या गर्न उक्साएकोसहितका अपराध गरेको आरोप लगाउँदै प्रहरीमा निवेदन दिएका थिए ।

रियामाथिकै अनुसन्धानका क्रममा बलिउडमा हुने गरेको ड्रग्स (लागू औषध)को प्रयोगसम्बन्धी मामिला पनि बाहिर आएको थियो ।

ड्रग्स मामिलामा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले अनुसन्धान गरिरहेको छ । जसमा अभिनेत्री दीपिका पादुकोण लगायत अन्य केही व्यक्ति पनि मुछिएका छन् ।

सुशान्त मृत्यु प्रकरण र त्यससँग जोडिएका अन्य प्रकरण समेतमा अहिले तीन वटा संघीय निकायले अनुसन्धान गरिरहेको छ । तर, अलिहेसम्म पनि कसैविरुद्ध कुनै पनि मुद्दा भने चलाइएको छैन ।


प्रतिक्रिया दिनुहोस्