भाइरोलोजिस्टको सुझाव– कोरोनाविरुद्ध इम्युनिटी पावर बढाउने चक्करमा नलागाैं

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ४४


काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न तथा संक्रमण भइसकेपछि छिट्टै संक्रमण मुक्त हुन भन्दै अहिले धेरै व्यक्तिले प्रतिरोधी क्षमता बढाउने विभिन्न ‘बुस्टर’हरु प्रयोग गरिरहेका छन् ।

कोरोनाविरुद्ध लड्न शरीरमा प्रतिरोधी क्षमता बढाउने भन्दै अहिले आयूर्वेदिक, होम्योपेथिक तथा एलोपेथिक औषधि र बुस्टरहरुको प्रयोग व्यापक मात्रामा बढेको पनि छ ।

तर, केही चिकित्सकहरुले भने यस्तो बुस्टरको प्रयोगलाई अनावश्यक र गलत भन्ने गरेका छन् । त्यसमध्येकी एक हुन् भाइरोलोजिस्ट प्राध्यापक डा लुना भट्ट शर्मा ।

जापानको ओसाका सिटी विश्वविद्यालय मेडिकल स्कूलबाट मेडिकल साइन्स (भाइरोलोजी)मा विद्यावारिधी गरेकी डा भट्ट कोरोना भाइरसविरुद्ध भनेर प्रयोग गरिने इम्युनिटी बुस्टरले शरीरमा फाइदा भन्दा बेफाइदा धेरै गर्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘यो भाइरससँग लड्नन इम्युन सिस्सट (प्रतिरोध प्रणाली) अनावश्यक रुपले बढी आक्रामक हुन्छ । यही आक्रामक इम्युन सिस्टमले शरीरका विभिन्न भित्री अंग, प्रणालीमा क्षति पुर्‍याइ रहेको छ ।’

कोरोना भाइरस व्यक्तिपिच्छे फरक फरक प्रकारले सक्रिय हुने गरेका कारण त्यसमा सबै व्यक्तिले एकै प्रकारको इम्युनिटी बुस्टर प्रयोग गर्दा फाइदा भन्दा बेफाइदा धेरै हुने उनको मत छ ।

‘सजिलो तरिकाले भन्दा नर्मल स्पीड (गति)मा कुदिरहेको गाडीले पनि गन्तव्यमा पुगिन्छ । तर, छिटो पुग्ने, अनि एड्भेन्चरका लागि गाडीको स्पीड धेरै बढायो भने के होला ? कन्ट्रोल गर्न नसकी दुर्घटना ! त्यसैले नर्मल मै बसौं,’ डा भट्ट भन्छिन् ।


प्रतिक्रिया दिनुहोस्