पोखराका सडक कुकुरको बन्ध्याकरण गरिँदै

प्रकाशित मिति : कार्तिक ११, २०७७ मंगलबार


पोखरा । गण्डकी प्रदेशका राजधानी पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरिएको छ । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले शुरु गरेको कार्यक्रम अन्तर्गत दशैँ अघिसम्म न्युनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने छ ।

हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिज विरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोविड – १९ महामारीको कारण केही वडा छुटेका थिए ।

छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए । खोप लगाउने क्रममा बन्ध्याकरण नभएका कुकुरको सङ्ख्या धेरै देखिएको कारण बन्ध्याकरण पनि गरिएको शर्माले बताए ।

यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ । संस्थाले एक दशक यता पोखरा, भरतपुर लगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजार भन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र ३५ हजार भन्दा धेरै कुकुरलाई रेबिज विरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ । ­­­


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्