चर्को आवाज निकाल्ने ४० मोटरसाइकल कारवाहीमा

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : १८


महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ।

चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक प्रहरीले आज मात्रै चर्को आवाज बनाएर मोटरसाइकल चलाउने २० चालकलाई कारवाही गरेको हो।

महाशाखाले शहरमा कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने तथा स्वरुप परिवर्तन, लापरबाही तथा जिकज्याक रुपमा चलाउने कार्य कानून विपरीत भएकाले त्यसविरुद्ध अभियान थालेको छ।

महाशाखाका प्रमुख भीमप्रसाद ढकालले त्यस्ता मोटरसाइकलका कारण दुर्घटना निम्तिनाका साथै सर्वसाधारणमालाई समेत असर पुग्ने बताए।

जथाभावी रुपमा साइलेन्सरलाई परिवर्तन गरेर, फिल्टर निकालेर वा कम्पनीबाट नै ठूलो आवाज निस्कने बनाइएका मोटरसाइकललाई काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा कडाइ गरिएको प्रहरी वरिष्ठ उपरीक्षकले ढकालले जानकारी दिए।

त्यस्ता मोटरसाइकल निकै तीव्र गतिमा कुदाइने गरेको पाइन्छ। महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवका अनुसार चालु आर्थिक वर्षमा मात्रै यसअघि ३४ मोटरसाइकल चालकलाई कारबाही गरिसकिएको छ। त्यसरी समातिएका मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप रु एक हजारदेखि १५ हजारसम्म जरिवाना गराइएको छ।

यस्ता किसिमका मोटरसाइकल कतै कुदेको देखेमा ट्राफिक प्रहरीको हटलाइन १०३ मा जानकारी गराइदिनसमेत प्रहरीले अनुरोध गरेको छ।

महाशाखाले यातायात क्षेत्रको ठगी नियन्त्रणमा समेत विशेष टोली परिचालन गरिएको जनाएको छ।

सादा पोशाकमा प्रहरी परिचालन गरी यस्ता गतिविधि नियन्त्रण अभियान शुरु भएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्