उपत्यकामा फेरि निषेधाज्ञा जारी गर्न भक्तपुर नगरपालिकाको माग

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ४१


काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गइरहेको भन्दै भक्तपुर नगरपालिकाले पुनः उपत्यकामा निषेधाज्ञा जारी गर्न माग गरेको छ।

आइतबार नगरपालिका स्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय गरेको छ।

संक्रमण बढेको भन्दै उपत्यकाबासीलाई जोगाउन निषेधाज्ञाको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ।

बैठकले सरकारलाई पुनः निषेधाज्ञा लगाउन आग्रह गर्ने निर्णय गरेको अधिकारीहरुले जनाएका छन्।

दसैंको समयमा हुन सक्ने संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले सरकारलाई यस्तो आग्रह गर्ने निर्णय गरेको हो।

लकडाउनबारे सरकारी धारणा

सकारकारले भने नागरिक संवेदनशील नभए फेरि लकडाउन गर्न बाध्य हुने चेतावनी दिएको छ।

आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नागरिकको जिवनरक्षाका लागि सरकार गम्भीर रहेको बताए।

लकडाउन गर्नेरनगर्ने कुरा सरकारी आग्रह र अपिल नागरिकले कति पालना गरिरहेका छन भन्ने कुरामा भर पर्ने मन्त्री ज्ञवालीको भनाई छ।

दशैं, तिहार र छठजस्ता चाडपर्वमा भीडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन मन्त्री ज्ञवालीले आग्रह गरे।

४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै उनले संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताए।

६० प्रतिशत संक्रमित काठमाडौंमै रहेका र क्रिटिकल केयर चाहिने अवस्थाका संक्रमित पनि यहीँ बढी भएकाले हालको स्वास्थ्य सामर्थ्यले धान्न नसक्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्