कोरोना संक्रमण बढेपछि दाङको घोराहीमा कार्तिक १५ सम्म पठनपाठन बन्द

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : २८


घोराही । दाङको घोराहीमा सञ्चालन भइरहेका वैकल्पिक सिकाइ कात्तिक १५ सम्मका लागि बन्द भएका छन्।

कोरोना सङ्क्रमणको दर बढेको भन्दै सामुदायिक र संस्थागत विद्यालयहरुमा भइरहेको सहजीकरणका क्रियाकलाप २० दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

नगर शिक्षा समितिको आइतबार बसेको बैठकले नगरभित्र दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कात्तिक १५ गतेसम्मका लागि सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।

यसैबीच, कोभिड महामारीको प्रकोप बढ्दै गएकाले दाङका तीन सरकारी कार्यालय बन्द भएका छन्।

बन्द हुने कार्यालयमा दाङ देउखुरी जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय छन्।

दाङ देउखुरी जिल्ला अदालतले यही असोज २६देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ। अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले पनि आज सूचना जारी गर्दै यही असोज ३० गतेसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ।

कार्यालयका प्रसासकीय अधिकृत अम्मरराज शर्माले प्रशासनमा कार्यरत एक कर्मचारीलाई कोरोना पोजोटिभ देखिएको र थप अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा पाँच दिनका लागि कार्यालय बन्द गरिएको जानकारी दिए।

यस्तै दाङ जिल्ला नापी तथा मालपोत कार्यालय पनि यही असोज २२ देखि २८गतेसम्मका लागि बन्द गरिएको छ।


प्रतिक्रिया दिनुहोस्