बैतडी र बझाङमा यसै हप्ता समिट एयरले उडान गर्ने, टिकट बुकिङ खुला

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ३ : ००


काठमाडौं । सुदूरपश्चिमको पहाडी २ जिल्लामा यसै हप्ताबाट उडान सूरु हुने भएको छ।

निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट यही असोज २७ देखि तीनदिनसम्म (२७, २८ र २९ गते) लगातार बझाङ र बैतडीका लागि उडान भर्ने भएको छ।

धनगढी–बझाङ भाडादर प्रति यात्रु ५ हजार ४८ र बैतडीका लागि ३ हजार ८ सय दुई रुपैया तोकिएको छ।

डोटीका लागि भने निर्णय नभइसकेको समिट एयरले जनाएको छ।

३ दिनसम्म उडान गरेर त्यसपछि नागरिक उड्यन प्राधिकरणको तालिका अनुसार हप्तामा कुनबार उडान गर्ने भन्नेबारे निर्णय हुने उक्त एयर कम्पनीले जनाएको छ।

यसअघि गत शनिबार सुदुपश्चिमका ३ जिल्लामा परीक्षण उडान भएको थियो।

समिट एयरको विमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सहितको टोलीलाई लिएर शनिबार बैतडी, बझाङ र डोटी पुगेको थियो।

परीक्षण उडानका क्रममा पर्यटनमन्त्री भट्टराईले अबको एक हप्तामै नियमित उडान हुने बताएका थिए। हप्तामा २ दिन नियमित उडान हुने उनले बताएका थिए।

बैतडीमा २६ वर्षपछि विमान सञ्चालनमा आएको हो। वि.स २०५१ सालमा तत्कालिन विद्रोही माओवादीले ध्वस्त पारेपछि विमानस्थल बन्द भएको थियो।


प्रतिक्रिया दिनुहोस्