डा.केसीलाई बचाउन ९ चिकित्सकको अपिल

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ९ : २५


काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै वरिष्ठ डा.गोविन्द केसी अनसनमा बसेको आज २७ दिन पुरा भएको छ।

सरकारले उनका माग सम्बोधनका लागि वार्ता टोली गठन गरेपनि माग पुरा गर्न आनाकानी गरेको छ।

अनसन बसेको लामो समय हुँदा डा.केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गइरहेको छ।

विभिन्न विधाका ९ चिकित्सकहरुले जीवन रक्षाका लागि अपील जारी गर्दै सरकार र डा. गोविन्द केसी पक्षधरसँग वार्ता गर्दा उनको जीवन रक्षालाई प्रमुख दायित्वका साथ लिन आग्रह गरेका छन्।

नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डाक्टर केदारनरसिंह केसीले ९ जना चिकित्सकका तर्फबाट अपिल जारी गरेका हुन्।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, पूर्व स्वास्थ्य राज्यमन्त्री भरत प्रधान, पूर्व राजदूत डा. महेश मास्के, डा. चोपलाल भुषाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकूलपति डा.अर्जुन कार्की, चिकित्सक संघका पूर्व अध्यक्ष डा.अञ्जनीकुमार झा, डा.मुक्तिराम श्रेष्ठ, समाजिक अभियन्ता समेत रहेका डा. सरोज धितालसहितले अपिल जारी गरेका हुन्।

गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका सम्बन्धमा डा.केसीले पटक–पटक आमरण अनसन बसी नेपाल सरकार समक्ष विगतमा १८ औं पटक सम्म सम्झौता गरेको व्यहोरा स्मरण गराउँदै पूर्ववत सम्झौताको भावना र मर्म अनुरुप सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागहरुको कार्यान्वयनका लागि डा.केसी अनसनमा बसेको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्