‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा कसरी पढाउने?’

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ७ : ५३


सरकारले यसै शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा अनिवार्य विषयका रुपमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा समावेश गरेपछि विषयगत शिक्षकहरु शिक्षणको तयारीमा लागेका छन्।

विषयगत शिक्षकले माथिल्लो कक्षासम्म पहिलो पटक उक्त विषय समावेश भएपछि आफूहरुलाई सरकारले प्रवोधीकरण छिटो गराउनुपर्ने आवाज उठाउँदै आफ्नो तहबाट पनि बहश र प्रशिक्षणमा जुटेका छन्।

‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी पढाउने?’ विषयक शिक्षा पत्रकार समाज र सामाजिक अध्ययन शिक्षक समाजले आज आयोजना गरेको भर्चुअल बहसमा शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले ‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा कसरी पढाउने?’ शीर्षकमा आफ्नो प्रवचन दिनुभयो । डा कोइरालाले सामाजिक अध्ययन, समाज विज्ञान र जीवनोपयोगी सीप जोडिएर यो विषय तयार भएकाले विद्यार्थीको जिज्ञाशालाई मिल्ले खालका प्रश्नलाई समूहकृत गरी उत्तर दिने कोशिश गरेर खाने लाउने चलन तथा घर परिवार र विद्यालय आसपासकै विषयमा अनुसन्धानात्मक ढङ्गले सिकाउन सकिने बताए।

उनले स्थानीय जातजातिको अध्ययन र परिवेशबारे बुझाएर र अध्ययन गराएर उक्त तहमा सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा दिन सकिने जनाए।

आफ्नो परिवार र छिमेकीको अन्तरसम्बन्ध के हो ? गरिबीको चक्र कसरी घुम्छ ? कसका बाबु आमाका कस्ता दर्शन र सांस्कृतिक परम्परता छन् ? जस्ता विषयमा विद्यार्थीलाई अन्तरक्रिया गराउन सुझाव दिए।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक रेणुका पाण्डेले सिकेका कुरालाई जीवनमा अपनाउन सहयोगी गराउन कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी’ शिक्षा समावेश गरिएको बताउँदै सरकारले गरेको निर्णय लागू हुँदैन भन्ने आशङ्का नराख्न आग्रह गरे।

उनले दशै अगाडि पाठ्यक्रमको मुद्रणीय प्रति तयार हुने र त्यसपछि शिक्षकलाई प्रवोधीकरण गरिने जानकारी दिए।

शिक्षक समाजका अध्यक्ष डिल्ली शर्माले सामाजिक अध्ययनले विद्यार्थीलाई अशल नागरिक बनाउन प्रेरणा दिने बताए भने सामाजिक अध्ययनका पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले सामाजिक अध्ययन संविधान, सङ्घीयता र समावेशीताका सन्दर्भमा समय सान्दिर्भिक भएकाले यसको कार्यान्वयन हुनु सकारात्मक पक्ष हो भने।


प्रतिक्रिया दिनुहोस्