जापानिज खाना ‘बेन्तो’को बिक्री सुरु

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  १ : ५२


नेपालमा जापानको प्रसिद्ध खाना ‘बेन्तो’को बिक्री शुरु गरिएको छ।

जापानिज खाना प्रवद्र्धनका लागि एक वर्षअघिदेखि सञ्चालनमा आएको होक्काइदो रामेन हाउसले भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा बेन्तो नेपाली बजारमा प्रवेश गराएको हो।

कम्पनीले नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट हाललाई पाँच विभिन्न किसिमका बेन्तोको परिकारको बिक्री शुरू गरेको जानकारी दिएको छ।

बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौँ, पोखरा, चितवन, विराटनगरलगायतका अन्य शहरी क्षेत्रमा बिक्री बढाउँदै लगिने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिए।

“हामीले नेपालमा पहिलोपटक यो खानालाई लञ्च गरेका छौँ । बेन्तो जापानमा तालिमप्राप्त अनुभवी सेफले जापानको निगरानीमा तयार गर्नेछन्। तरकारी आफ्नै बारीमा फलाउँछौँ र अरू सामग्री पनि जापानमा तालिमप्राप्त हाम्रा कर्मचारीले विशेष ध्यान पुर्याई छानेका हुनेछन्। बेन्तोको परिकारले नेपाली स्वाद पारखीलाई छुट्टै अनुभव दिने विश्वास लिएका छौँ”, उनले भने।

नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्ने उद्देश्य लिएको होक्काइडो रामेन हाउसले जापानको होक्काइडोको धेरै ठाउँमा ‘विस्तारै विस्तारै’ ब्राण्डमा भन्ने नेपाली रेष्टुराँ सञ्चालन गरिरहेको छ।

कोभिड–१९को कारण मानिस रेष्टुराँमा गएर खाने तथा कार्यालयमै गएर खाजा खानेभन्दा आँफै बनाएर खाने संस्कृति बढिरहेको सन्दर्भमा बेन्तो समय सान्दर्भिक खाना हुने विश्वास गरिएको छ।

होक्काइडो रामेन हाउसले गत वर्षदेखि बूढानीलकण्ठस्थित पार्क भिलेज रिर्सोटबाट रामेनसहित विभिन्न जापानिज खाना उत्वादन तथा बिक्री वितरण गर्दै आइरहेको छ। रासस


प्रतिक्रिया दिनुहोस्