काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार राति यूएईको सारजहामा भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
सारजाह क्रिकेट रंगशालामा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रनको योगफल तयार पारेको थियो ।
दिल्लीबाट १ सय ८५ रनको लक्ष्य पाएको राजस्थान १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रनमा समेटियो ।
राजस्थानका लागि राहुल टेवाटियाले सर्वाधिक ३८ रन बनाए । यस्तै, याशभी जैसवालले ३४ रन बनाए भने कप्तान स्टिभ स्मिथले २४ रन बनाए । अर्का ब्याट्सम्यान जोस बट्लर १३ रनमा आउट भए ।
राजस्थानलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका कासिगो रबडाले ३ विकेट लिए । यस्तै, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले २–२ तथा अक्षर पटेल, हर्सल पटेल र एन्रीच नोर्ट्जेले १–१ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रना बनाएको थियो ।
दिल्लीका लागि शिम्रन हिटमायरले सर्वाधिक ४५ रन बनाए । यस्तै मार्कुस स्टोनिसले ३९ रन जोड्दा कप्तान श्रेयस आयरले २२ रन बनाए ।
ओपनरद्वय पृथ्वी श १९ तथा शिखर धवन ५ रनमा मात्रै बनाएर आउट भए । अक्षर पटेलले १७ रनको योगदान दिँदा हर्सल पटेलले १६ रन बनाए ।
दिल्लीविरुद्ध राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए । यस्तै राहुल टिवाटिया, एन्ड्रयु टेइ र कार्तिक त्यागीले १/१ विकेट लिए ।
दिल्लीले नेपाली स्पीनर सन्दीपलाई भने मौका दिएको छैन । सन्दीप लगातार छैठौँ खेलमा प्लेइङ सेट बाहिर रहेका हुन् ।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ६ खेलमा १० अंक जोडेको छ । दिल्लीको यो पाँचौ जित हो ।
राजस्थानको भने यो चौंथो हार हो । राजस्थान ६ खेलमा ४ अंकसहित सातौँ स्थानमा छ ।