कोरोना संक्रमित बढेपछि गोदावरी नगरपालिका बन्द

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ५ : ४६


गोदावरी । ललितपुरको गोदावरी नगरपालिका आउँदो आइतबारदेखि एक हप्ताका लागि बन्द हुने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले शुक्रबार सूचना जारी गर्दै नगरपालिकामा दिनानुदिन कोरोना सङ्क्रमित सङ्ख्या उच्च दरले बढ्दै गइरहेकाले सो निर्णय गरिएको जानकारी दिएका छन् ।

नेपाल सरकारले अत्यावश्यक सेवा भनी राजपत्रमा प्रकाशन गरेका सेवा मात्र सञ्चालनमा रहने सूचनामा जानकारी दिइएको छ ।

यसैबीच गोदावरीमा कोरोना सङ्क्रमितका कूल सङ्ख्या २८२ पुगेको छ ।  जसमध्ये १४६ जना संक्रमण मुक्त भइसकेका छन् । यस्तै, १ सय २१ जना होम आइसोलेसनमा छन् ६ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

नगरपालिकाको बडिखेल आइसोलेशनमा ६ र सङ्क्रमणबाट मृत्यु भएका तीन रहेको नगरपालिकाले जनाएको छ । यही असोज २० गते गोदावरीका नगर प्रमुख गजेन्द्र महर्जन पनि १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्