गुण्डा नाइके राधेलाई १० दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ९ : ५३


काठमाडौं । राजनीतिक दलको संरक्षणमा गुण्डागर्दीमा संलग्न रहँदै आएका गुण्डा नाइके राधे भण्डारीमाथि अनुसन्धान गर्न धादिङ प्रहरीले १० दिनको अनुमति पाएको छ ।

जनप्रतिनिधिलाई धम्की दिएपछि पक्राउ परेका राधेविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय धादिङले १० दिनको म्याद थप गरेको हो ।

प्रहरीले उनीविरुद्ध शान्ति सुरक्षा भंग गर्न खोजेका कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

धादिङको सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधिलाई धम्की दिएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङको टोलीले उनलाई इलाका प्रहरी कार्यालय गजुरीको क्षेत्राधिकार भित्र पर्ने ठाउँबाट विना समन्वय पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डीएसपी विश्वराम खड्काले राधेलाई जोगाउन भूमिका खेलेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय धादिङले नै उनलाई पक्राउ गर्न टोली खटाएको थियो ।

रोध पछिल्लो समय क्रसर व्यवसायसँग जोडिएका छन् । नदीबाट वालुवा निकाल्ने ठेक्का सकिए पछि पनि उनले बालुवा निकाल्दै आएका थिए ।

जनप्रतिनिधिले वालुवा निकाल्न रोक्न भनेपछि उनले जनप्रतिनिधिलाई उल्टै धम्की दिएका थिए ।

राधेले धम्की दिएपछि जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध उजुरी दिएका थिए ।

जनप्रतिनिधिहरुले दिएको उजुरीकै आधार प्रशासनले राधेविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

गुण्डा नाइके राधे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका धादिङ जिल्ला उपाध्यक्ष समेत हुन् ।

उनी यसअघि गत जेठमा पनि हतियारसहित पक्राउ परेका थिए । पटक पटक पक्राउ परेपनि उनी राजनीतिक पहुँचकै आधारमा छुट्ने गरेका थिए ।

केही वर्ष पहिलेदेखि नै गुण्डागर्दीमा संलग्न राधे २०७० सालमा चर्चामा आएका हुन् । २१ असार २०७० मा उनले धादिङबाट काठमाडौं आउने क्रममा गुण्डा नाइके दिनेश अधिकारी (चरी)लाई गोली प्रहार गरेका थिए ।

चरीलाई गोली हान्नु अगाडि उनले चरी समूहकै गुण्डा आयुप तामाङको खुकुरी प्रहार गरी हात काटिदिएका थिए ।

चरीलाई गोली हानेको अभियोगमा ज्यान मार्ने उद्योगको मुद्दा चलेपनि राजनीतिक पहुँचकै आधारमा उनी डेढ लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए ।

गुण्डा नाइके चरी भने २१ साउन २०७१ मा भीमढुंगामा भएको प्रहरी इन्काउन्टमा मारिएका थिए ।


प्रतिक्रिया दिनुहोस्