रोहिंग्या शरणार्थीको शिविरमा भएको लडाइँमा ८ जनाको मृत्यु

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १ : ४२


काठमाडौं । म्यान्मारबाट विस्थापित भएका रोहिंग्या मुस्लिमहरुको बंगलादेशस्थित एक शिविरमा झडप हुँदा ८ जनाको मृत्यु भएको छ ।

दुई गुटबीचको लडाइँका कारण हजारौं मानिसहरु शिविर छाडेर भाग्न बाध्य भएका छन् । घटनामा केही राउण्ड गोली चलेको थियो । अपराधिक समूहबीच भएको उक्त लडाइँका क्रममा शिविरमा आगो समेत लगाइएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार बंगलादेशको कक्स बजार नजिक रहेको संसारकै सबैभन्दा ठूलो मानिएको शरणार्थी शिविरमा दुई पक्षबीच लडाइँ भएको हो ।

दुई समूहबीचको लडाइँका कारण शिविरको स्थिति तनावग्रस्त रहेको अतिरिक्त प्रहरी अधीक्षक रफीकुल इस्लामले बताएका छन् ।

सुरक्षा एजेन्सीहरुले मानव तस्करी र लागू औषध ओसारपसारमा संलग्न समूहहरुले शिविरमै झगडा गरेको हुनसक्ने विश्लेषण गरेका छन् ।

रोहिंग्याहरुको शिविर रहेको उक्त क्षेत्र लागू औषध तस्करीका लागि बदनाम छ । यसअघि पनि त्यहाँ झडपका घटना हुने गरेका थिए ।

सन् २०१८ यता शिविरमा हुने गरेका झडपका घटनामा १०० भन्दा बढीको ज्यान गइसकेको छ ।

एकजना स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा घटनामा दुईवटा कुख्यात स्थानीय गुटहरु संलग्न रहेको बताएका छन् । एक गुटको नाम अराकान रोहिंग्या साल्भेसन आर्मी हो भने अर्को गुटको नाम मुन्ना हो ।


प्रतिक्रिया दिनुहोस्