काठमाडौं। मनमोहन मार्ग अन्तर्गत साँखु–फड्केश्वर–बाहुनेपाटी सडकको स्तरोन्नती सुरुवात भएको छ ।
बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधब कुमार नेपालले निर्माण शुभारम्भ गरेका हुन् ।
सडकको शिलान्यास गर्दै पुर्व प्रधानमन्त्री नेपालले मनमोहन अधिकारीको निर्वाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अवधारणा विकास गरिएको बताए ।
सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रको प्रवेशद्वार रहेको साँखु–फड्केश्वर–बाहुनेपाटी सडक स्तरउन्नति हुँदा सिन्धुवासीलाई प्रत्यक्ष लाभ हुने विश्वास व्यक्त गरे ।
‘विकास निर्माणको सन्दर्भमा विभिन्न देशले एक वर्ष भित्रै फड्को मारेको अनेकन प्रमाणहरु छन् । नेपालको विकासमा पनि ठूलो फड्कोको आवश्यकता र सम्भावना छ ।’ नेपालले भने ।
चाबहिल–साँखु सडक पटक पटको प्रयत्नमा पनि स्तरोन्नती जनअपेक्षा अनुसारको हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै नेपालले मनमोहन मार्गको समयमानै स्तरोन्नतीमा सवै पक्षको सहयोगको अपील गरे ।
देशमा तीव्र विकासको आवश्यकताको जरुरत देखिएकोले केन्द्रदेखि स्थानिय सरकारले समेत जनताले आशा गरिएको विकासमा केन्द्रित रहन आवश्यक रहेको नेता नेता नेपालले बताए ।
१३ करोड ३२ लाखमा एक वर्षमा सडकको स्तरोनती सम्पन्न हुने सडक विभागले जनाएको छ ।
सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रबेशद्वार मानिने साँखु–फड्केश्वर–बाहुनेपाटी सडक स्तरोन्नती हुँदा राजधानीसँग जिल्लाको सहज आवागमन हुनेछ ।
साँखुबाट सिन्धुपाल्चोकको पश्चिमी भेग र मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म पुग्ने सबैभन्दा छाटो मार्गका रुपमा रहेको जरसिंह पौवा, नाङ्लेभारे बहुनेपार्टी सडकको निर्माण सुरु भएको हो।
मध्यपहाडी लोकमार्गले छुने बाहुने पार्टीबाट उपत्यका जोड्ने सहायक वैकल्पिक राजमार्गअन्तरगत जरसिंह पौवादेखि फट्केश्वरसम्मको १३ किलोमिटर सडक तीन चरणमा पुनःनिर्माण सुरु भएको हो।
अर्थ मन्त्रालयले काठमाडौँ जिल्ला भित्र पर्ने ९ किलोमिटर सडक निर्माणका लागि बहुवर्षीय योजनाअन्तरगत ५१ करोड रुपैयाँको विनियोजन गरेको छ।
पहिलो खण्डका लागि गत आर्थिक वर्षमा २० करोड रुपैयाँ विनियोज भए पनि बजेट निकासामा भएको ढिलाइ, कोरोना महामारी जस्ता कारणले ढिलो गरी बिहीबार मात्र सडक निर्माणको काम थालिएको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुवेर नेपालीले जानकारी दिए।
पहिलो चरणमा शंखरपुरको जरसिंहपौवादेखि ४.७ किलोमिटिरको दूरी पाङ्ग्रेबाससम्म आस्फल पिच हुनेछ।
रौताहा/बन्दन भगवती/कमलजित जेभीले १३ करोड ३२ लाख ६० हजार रुपैयाँमा निर्माण कार्यको ठेक्का पाएको छ।
गत असार २३ गतेदेखि १३ महिनाभित्र ४.७ किलोमिटर सडकको निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको नेपालीले बताए। उनका अनुसार उक्त खण्डमा मेसिनरी वाल, ग्याविन वाल, कटिङ, नाला निर्माण र कालोपत्रे हुनेछ। १० मिटर चौडा रहने सडकमा सात मिटर कालोपत्रे गर्ने तयारी छ।
त्यस्तै दोस्रो चरण लामविसौनादेखि सिन्धुपाल्चोकको सिमा छाप भञ्ज्याङसम्मको झण्डै पाँच किलोमिटर खण्डको निर्माणका लागि सडक डिभिजन कार्यालयले यही असोज ७ गते एक महिनाको अवधि राखेर टेण्डर आह्वान गरेको छ।
छापभञ्ज्याङदेखि फट्केश्वरसम्मको बाँकी चार किमोमिटर खण्डका लागि चरिकोट सडक डिभिजन कार्यालयमार्फत अर्को वर्ष बजेट सुनश्चिता गरिने सांसद शेरबहादुर तामाङले जानकारी दिए।