तिहार आउन १ महिना अगाडि नै पटाकाको तस्करी, इटहरीबाट २ जना पक्राउ

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  १० : ४१


काठमाडौं । हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आउन अझै १ महिना बाँकी छ । तर, तिहारमा प्रयोग गर्न भनेर प्रतिबन्धित पटकाको तस्करी भने सीमा क्षेत्रबाट व्यापक मात्रामा हुन थालेको छ ।

सरकारले नेपालमा पटाकाको आयात खुला बिक्रीमा प्रतिबन्ध लगाएको छ । केही निश्चित उद्देश्यका लागि मात्रै प्रयोजन खुलाएर यसको आयात हुने गर्छ ।

तर, तिहार नजिकिँदै जाँदा नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रुपमा पटाका भित्र्याउने क्रम भने शुरु भएको छ । सुनसरी प्रहरीले अवैध रुपमा भारतबाट नेपालमा पटाका भित्र्याएका २ जनालाई पक्राउ गरेको छ ।

पटाकासहित पक्राउ परेका २ जना

पक्राउ पर्नेमा सुनसरीको श्रीपुरका १९ वर्षीय आलम मिया र सोही ठाउँका २७ वर्षीय समिर मिया रहेका छन् ।

विशेष सुरकका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई बिहीबार बिहान पटाकासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

उनीहरुले सुनसरीको इटहरी उपमहानगरपालिका–५ अन्तर्गत पर्ने राजमार्ग किनारमा बोरामा लुकाएर पटाका राखेका थिए ।

भारतबाट आयात गरिएका पटाका काठमाडौं पठाउने तयारी भइरहँदा प्रहरीले पटाकासहित २ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले दुई जनाको साथबाट ६७ बण्डल पटाका बरामद गरेको जानकारी दिएको छ ।

पटाकासहित पक्राउ परेका दुवै जनाविरुद्ध आवश्यक कानून कारबाही अगाडि बढाइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्