मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा शुल्क घटाउन माग

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ९ : ५८


मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) अन्र्तगत मानविकी तथा समाजशास्त्र केन्द्रीय क्याम्पसमा अध्ययनरत पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीले मासिक शुल्क घटाउन माग गरेका छन्।

स्नातकोत्तर तह पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले तत्काल मासिक शुल्क घटाउन माग गर्दै क्याम्पस प्रशासनका साथै विश्वविद्यालय पदाधिकारीको ध्यानाकर्षण गराएका हुन्।

एमयूले पत्रकारितामा पहिलो सेमेस्टरको मासिक शुल्क रु। चार हजार ५०० तोकेको छ । केन्द्रीय क्याम्पसका अन्य विभाग र विषयको तुलनामा पत्रकारिताको शुल्क अत्यधिक भएको विद्यार्थीको गुनासो छ।

मासिक शुल्क घटाएर बढीमा रु। दुई हजार कायम गर्नुपर्ने उनीहरुको माग छ।

कोरोना भाइरस महामारीका कारण आम दैनिकी सहज नभइरहेका बेला समेत क्याम्पसले मासिक शुल्कमा ताकेता गरेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

पत्रकारिता तथा आमसञ्चार शिक्षण समितिका संयोजक युवराज शर्माले डिन कार्यालयले नै मासिक शुल्कबारे टुङ्गो लगाउने बताए।

विद्यार्थीले मासिक शुल्क निर्धारण हेरफेर गर्न उपकुलपति, रजिष्ट्रार, डीन कार्यालय र क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।


प्रतिक्रिया दिनुहोस्