बागलुङ नगरपालिका–३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर रु एक लाख बचत गर्दै आएका छन।
तित्याङ जाने काठेखोला पुल नजिकै उनले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र सिल्भर जातका सानाठूला गरी ३० हजार बढी माछा छन् ।
विसं २०७० सालमा बाँझो जमिन र खेर गइरहेको पानी देखेपछि माछापालन गर्ने सोच बनाएर शर्माले सञ्चालन गर्दै आएको नारायण कृषि फार्ममार्फत दैनिक माछा बिक्री गर्ने गरेको बताए।
जिल्लामा माछाको माग अत्यधिक रहेकाले मागअनुसारको माछा उत्पादन गर्न नसकिएको शर्माको भनाइ छ।
अहिले शर्माको फार्ममा रु ४० लाख लगानी छ । विगतमा विभिन्न व्यापार, कृषि तथा फर्निचरको व्यवसायसमेत गरेका शर्माले माछाबाट राम्रो आम्दानी हुन थालेपछि अहिले यसलाई नै बढी व्यावसायिक बनाएको बताए।
दश रोपनी क्षेत्रफलमा रहेको उनको फार्ममा माछासँगै एक हजार ४०० बोइलर कुखुरा, एक सयबढी लोकल कुखुरा, केही हाँस र टर्की रहेका छन् । यससँगै शर्माले उखु र केराखेती पनि गर्नुभएको छ।
उखु, केराका पातहरु माछालाई नै आहारा हुने भएकाले फाइदा भएको शर्माको भनाइ छ।
उनले तित्याङ जोड्ने काठेखोलाको पुलनजिकै एउटा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएका छन।
अहिले दैनिक रुपमा लोकल तथा स्वादिष्ट माछा खान मन पराउनेहरु सोही रेष्टुरेन्टमा जाने गरेका छन्।
पोखरीबाट माछा छोपेर रेष्टुरेन्टमा खुवाउने योजनानुसार शर्माले अझै थप लगानी बढाउन लागेको बताए।
“लोकल माछा लोकल कुखुरा रेष्टुरेन्टको मुख्य आर्कषण हो”, शर्माले भने।
उनको यो पेशामा घरपरिवारको सहयोग पनि उत्तिकै छ। थप दुई जनाले रोजगारी पाएका छन्।
कोरोना भाइरसका कारण बाहिरबाट कुखुराका चल्ला ल्याउन समस्या भएपछि उनले अण्डाबाट कुखुराका चल्ला कोरल्ने ह्याचरी घरमै बनाएर राखेका छन। रासस