ट्रम्प भन्छन्, ‘चीनका कारण मलाई कोरोना लाग्यो, यसको परिणाम उसले भोग्नुपर्नेछ’

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  १ : ३८


वासिंगटन। कोरोना भाइरस संक्रमणका कारण ४ दिनसम्म अस्पतालमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले काममा फर्किसकेका छन्।

अस्पतालबाट फर्केपछि उनले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिँदै एउटा भिडियो सन्देश सेयर गरेका छन्। भिडियोमा राष्ट्रपति ट्रम्प मास्क बिना नै देखा परे।

ट्रम्पले आफूलाई कोरोना संक्रमण हुनु एक आर्शिवादकै रुपमा लिएकोे उल्लेख गर्दै हरेक अमेरिकी नागरिकलाई राष्ट्रपतिको जस्तो उपचार व्यवस्था हुनेमा जोड दिए।

करिब ५ मिनेटको भिडियोमा उनले कोरोना भाइरसलाई लिएर चीनमाथि भने आक्रोश पोखेका छन्।

ट्रम्पले भनेका छन्, ‘मलाई चिनियाँ भाइरसको संक्रमण भयो, यो तपाईं (परमेश्वर) को गल्ती होइन। यो चीनको गल्ती हो र चीनले यसको परिणाम भोग्नुपर्नेछ। चीनले हाम्रो देशलाई के गरेको छ, सारा विश्वलाई के गरेको छ, यसको मूल्य उसले तिर्नुपर्नेछ।’

ट्रम्पले कोरोना महामारी फैलिनुमा चीन दोषी रहेको आरोप लगाउँदै आएका छन्। उनले यो भाइरसलाई चाइना भाइरस भन्ने गरेका छन्।


ट्रम्पका डाक्टरले के भने?

ट्रम्पका डाक्टरका अनुसार राष्ट्रपति ट्रम्पमा विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमणका लक्षण देखिएको छैन। र ४ दिन यता ज्वरो पनि छैन।

डा सीन कोन्लीका अनुसार राष्ट्रपति ट्रम्पलाई शुक्रबार अस्पतालमा जाँदा थप अक्सिजनको आवश्यकता पनि परेको थिएन। ट्रम्प सोमबार अस्पतालबाट डिस्चार्ज भए।

यसअघि ट्रम्पले ‘धेरै राम्रो महसुस’ गरिरहेको बताएका थिए। राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार उनी कामका लागि ओभल अफिसमा आउन थालेका छन्।


प्रतिक्रिया दिनुहोस्