बाइक सडकमा, परिचय पत्र भिरमा, नारायणी नदी किनारमा मोबाइल, मान्छे अझै सम्पर्कविहीन

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : २०


चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा बेवारिसे अवस्थामा मोटरसाइकल, भिरमा चप्पलसँगै परिचयपत्र , नारायणी नदी किनारमा मोबाइल फेला परेको छ ।

मोबाइलसँगै बैंकको चेक र मोटरसाइकलको कागजपत्र भेटिए पनि सर्लाहीका उत्तम प्रसाईँको भने अझैसम्म पत्ता लागेको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनले खोजी जारी रहेको जनाएको छ ।

गएको सोमबार सडक खण्डमा पर्ने ३ नम्बर पुल नजिकै सडकमा बेवारिसे अवस्थामा मोटरसाइकल भेटिएसँगै खोजी गर्ने क्रममा सडकभन्दा २० मिटर तल भिरमा उनको परिचयपत्र भेटिएको र मोटरसाइकल छोडिएको ठाउँबाट तल नारायणी नदी किनारमा प्रसाईँले प्रयोग गर्ने मोबाइल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सर्लाहीको हरिपुर नगरपालिका १ हजार बिघाहा बस्ने प्रसाईँको नाममा सूचना विभागले जारी गरेको प्रेस प्रतिनिधि परिचयपत्र फेला परेको छ । आफ्नी बहिनीसँगै काठमाडौंमा बस्दै आएका प्रसाईँ लकडाउनको समयमा सर्लाही गएका थिए ।

गएको असारमा सर्लाहीबाट काठमाण्डौ आएसँगै उनी एक्लै बस्दै आएका थिए । उनी कपडा डिजाइनको काममा आबद्ध भएको पाइएको प्रहरीले बताएको छ ।

सडक खण्डमा पर्ने ३ नम्बर पुल नजिकै सडकमा बेवारिसे अवस्थामा मोटरसाइकल भेटिएको थियो । सोमबार बिहान ९ः३० बजेको समयमा सडकको छेउमा रोकी राखिएको बा ७५ प ५१२९ नम्बरको डिस्कभर मोटरसाइकल भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सडक खण्डमा भेटिएको मोटरसाइकल भएको ठाउँबाट २० मिटर तल भिरमा कालो रङ्गको चप्पल र उत्तम प्रसाईँको नाममा सर्लाही युग व्यथा साप्ताहिक लेखिएको परिचय पत्र फेला परेको हो ।

हराइरहेका प्रसाईँका आफन्त खोजीका लागि चितवन आएका छन् । चितवनको इच्छाकामना गाउँपालिका ५ मा पर्ने त्यो ठाउँमा र राजमार्गमा रहेका सीसी टिभीको आधारमा पनि प्रसाईँको खोजी भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्