‘सुनभन्दा ७ गुणा महङ्गो’ मौरीको बिष उत्पादन गर्दै महावीर पुन

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ११ : ०१


काठमाडौं । समाजसेवी एवम् अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविस्कार केन्द्रले मौरीको बिष उत्पादन सम्बन्धमा अध्ययन अगाडि बढाएको छ ।

विभिन्न प्रकारका औषधि उत्पादन गर्ने मौरीको बिष अन्तर्राष्ट्रिय बजारमा निकै महङ्गो मूल्यमा खरिद बिक्री हुने गरेको छ । अब नेपालमै मौरीको विष उत्पादन गर्ने गरी मौरी पालेर अनुसन्धान थालिएको पुनले बताएका छन् ।

आविस्कार केन्द्रले अहिले सनराईज एपीकल्चर प्रालिसँग मिलेर मौरी पालन शुरु गरेको पुनले बताएका छन् । तर, मौरीको पालन मह उत्पादनभन्दा पनि मौरीको बिष उत्पादन र मौरीको घार भित्रको हावाको श्वास लिने विषयमा अनुसन्धान गर्न गरिएको पुनको भनाइ छ ।

‘मौरीको बिषको मूल्य सुनको मूल्यभन्दा ७ गुणा महँगो हुँदा रहेछ र यसको प्रयोग औषधि बनाउनमा हुने रहेछ,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पुनका अनुसार मौरीको घार भित्रको हावाको श्वास लिएर स्वास्थ्य उपचारको विधिबारे पनि अनुसन्धान शुरु भएको छ ।

युरोपका देशहरुमा मौरीको घारभित्रको हावाको श्वास लिएमा फोक्सोसँग सम्बन्धित समस्या र रोगको उपचार हुने विश्वास रहेको पुन बताउँछन् ।

युरोपका देशभा हाल प्रचलनमा रहेको प्रविधिलाई प्रयोग गरेर नेपालमा पनि मौरीको बिष उत्पादन र घार भित्रको हावाको श्वास लिने विषयमा अनुसन्धान थालिएको पुनले बताएका छन् ।

यस्तो प्रविधि प्रयोगमा आए नेपालका हजारौं मौरी पालक किसानहरुले अतिरिक्त आम्दानी गर्ने र त्यसले देशकै आर्थिक अवस्थामा समेत योगदान पुर्‍याउने पुनको विश्वास छ ।

लौ हेर्नु होस्, राष्ट्रिय आविष्कार केन्द्रमा मौरी पनि पाल्न थालियो | तर मौरीको मह खानको लागी मौरी पालेको होइन | यो काम…

Posted by Mahabir Pun on Tuesday, October 6, 2020


प्रतिक्रिया दिनुहोस्