आइपिएल क्रिकेटः राजस्थानलाई पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ६ : २६


काठमाडौं । राजस्थान रोयल्समाथि ५७ रनको फराकिलो जित निकाल्दै साविक विजेता मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानमा पुगेको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १९४ रनको लक्ष्य पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित ७९ रनको अर्धशतकीय इनिङ्स खेले ।

मुम्बईका लागि कप्तान रोहित शर्मा ३५, क्विन्टन डी ककले २३ रन जोडे भने हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।

राजस्थानका श्रेयस गोपालले दुई विकेट लिए भने जोफ्रा आर्चर र कार्तिक त्यागीले एकएक विकेट लिए ।

१९४ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेले भने जोफ्रा आर्चर २४, टम करन १५, महिपाल लोमरोरले ११ रन बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा समेटिए ।

राजस्थानको इनिङ्स धराप पार्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए भने ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले दुईदुई विकेट हात पारे ।

केइरन पोलार्ड, राहुल चाहरले भने एकएक विकेट लिए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ ।

मुम्बईको यो चौंथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ ।


प्रतिक्रिया दिनुहोस्