गर्भ जाँचे जस्तै कोरोना भाइरस परीक्षण गर्न सकिने ‘सस्तो र विश्वसनीय विधि’को विकास

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : ३५


भारतमा वैज्ञानिकहरूको एउटा समूहले कोरोना भाइरस परीक्षणका लागि गर्भ जाँच्न प्रयोग गरिने विधिले जस्तै तत्काल परिणाम दिन सक्ने सस्तो प्रविधिको विकास गरेका छन् । तर त्यसले कसरी काम गर्छ त ?

परीक्षण उपकरणलाई एउटा चर्चित भारतीय काल्पनिक अनुसन्धानकर्ताको नाम दिइएको छ जुन क्रिस्पर भनिने जीन सम्पादन प्रविधिमा आधारित छ ।

वैज्ञानिकहरूले ‘फेलुदा’ नामको उक्त उपकरणले एक घण्टाभित्र परिणाम दिने र खर्च ५०० भारतीय रुपैयाँ पर्ने अनुमान गरेका छन् । फेलुदाको उत्पादन भारतको अगुवा कम्पनी टाटाले गर्नेछ र कोभिड-१९ को परीक्षणको निम्ति कागजमा आधारित विश्वकै पहिलो परीक्षण विधि बजारमा उपलब्ध हुनेछ ।

भारत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार प्राध्यापक के विजय राघवनले बीबीसीसँग भनेका छन्, ‘यो सजिलो, विश्वसनीय, पहुँचयुक्त र मितव्ययी परीक्षण हो ।’

फेलुदाको विकास गरिएको दिल्लीस्थित सीएसआईआरअन्तर्गत रहेको इन्स्टिट्यूट अफ जीनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी) अनुसन्धानकर्ताहरू र निजी प्रयोगशालाहरूले करिब २,००० बिरामीबाट सङ्कलित नमुना परीक्षण गरेका छन् ।

तीमध्ये पहिला कोरोना भाइरस सङ्क्रमण देखिएका व्यक्तिहरू पनि छन् । उनीहरूले नयाँ परीक्षणमा ९६ प्रतिशत संवदेनशीलता (सेन्सटिभिटी) र ९८ प्रतिशत विशेषता (स्पेसफसटी) फेला पारेका छन् ।

परीक्षणको सुनिश्चितता यही दुईवटा आधारित हुन्छ । कुनै परीक्षणमा संवेदनशीलता धेरै छ भने त्यसले करिब सबैजसोको रोग पत्ता लगाउँछ ।

धेरै विशेषता भेटिएमा लगभग सबै नमुनामा रोग नभएको ठिक ढङ्गले पत्ता लगाउँछ । पहिलोले धेरै गलत नेगटिभ परिणाम नआओस् भन्ने सुनिश्चित गर्छ भने दोस्रोले धेरै गलत पोजटिभ नदेओस् भन्ने निश्चित गर्छ ।

भारतको औषधिसम्बन्धी नियामक निकायले व्यावसायिक प्रयोगको निम्ति उक्त उपकरणलाई अनुमति दिइसकेको छ ।

विश्वमै दोस्रो बढी सङ्क्रमित भएको देशको रूपमा भारतमा ६० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म एक लाखभन्दा धेरै सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सुरुमा परीक्षणगको गति सुस्त रहेको भएको पनि अहिले देशभरि रहेका १,२०० भन्दा बढी प्रयोगशालामा दैनिक १० लाख नमुना जाँच्छन् ।

त्यहाँ दुईथरी परीक्षण गरिन्छ । पीसीआर परीक्षणमा रसायनको प्रयोग गरिन्छ । त्यो सामान्यतया भरपर्दो छ र त्यसको निम्ति करिब २,४०० भारु शुल्क लाग्छ । त्यसले गलत परिणाम दिने सम्भावना कम हुन्छ ।

दोस्रो परीक्षण एन्टिजनमा आधारित छ । त्यो केही सस्तो छ । तर पोजटिभ पत्ता लगाउने त्यो परीक्षणले नेगटिभ नतिजा पीसीआरभन्दा धेरै मात्रामा गलत दिन्छ ।

ग्लोबल हेल्थ एन्ड हेल्थ पोलिसीका अनुसन्धानकर्ता डा. अनन्त भानका भनाइमा भारतमा परीक्षण बढाउन अहिले पनि सजिलो छैन ।

उनले बीबीसीसँग भने, ‘अहिले पनि लामो समय कुर्नुपर्छ र उपकरण कम उपलब्ध छन् । हामीले व्यापक रूपमा एन्टिजन परीक्षण गरिरहेका छौँ । त्यसले लगत नेगटिभ नतिजा दिने समस्या छ ।’

फेलुदा तुलनात्मक रूपमा सस्तो र थप विश्वसनीय रहेकाले त्यसले एन्टिजेन परीक्षणलाई विस्थापपित गर्नसक्ने उनको विश्वास छ ।

आईजीआईबीका निर्देशक डा. अनुराग अग्रवालले बीबीसीसँग भने, ‘नयाँ परीक्षण पीसीआर जस्तै विश्वासनीय छ, यो छिटो र सुविधासम्पन्न मिशिन नभएका प्रयोगशालामा पनि गर्न सकिन्छ ।’

फेलुदा परीक्षणको निम्ति नमुना सङ्कलन गर्ने विधि पनि पीसीआरको जस्तै छ । नाकको भित्री भागबाट स्वाब प्रयोग गरेर नमुना निकालिन्छ । भारतमा थुकको नमुनाको परीक्षण गरिँदैन ।

अनुसन्धानकर्ताहरूका अनुसार जीन-एडिटिङले कम्प्युटरमा कुनै शब्द बिग्रिँदा कर्सरको भरमा सच्याउने वा थपघट गर्ने गरिए जस्तै काम गरिन्छ ।

त्यसको प्रयोग खासगरी सिकलसेल रोगमा जस्तै कोशिकासँग सम्बन्धित रोगको उपचार र सङ्क्रमण रोकथाममा गरिन्छ ।

फेलुदा जस्ता उपकरणको प्रयोगमा क्रिस्पर प्रविधिले कर्सरले जस्तै कागजमा भाइरसको सङ्केत दिन्छ । कागजमा दुईवटा नीला रेखाले पोजटिभ सङ्केत गर्छ र एउटा रेखाले नेगटिभ ।

हार्भर्ड मेडिकल स्कूलका डा. स्टीभन किस्लर भन्छन्, ‘परीक्षण अझै सीमित छ र कहिलेकाहीँ त्यसको उपलब्धता सुधार गर्न हामीले सक्ने जेसुकै गर्नुपर्छ । त्यसैले फेलुदा त्यस दिशामा महत्त्वपूर्ण कदम हो ।’

अमेरिका र ब्रिटेनमा कैयौँ कम्पनी र अनुसन्धान प्रयोगशालाहरूले त्यस्तै खालको कागजमा आधारित परीक्षणको विकास गरिरहेका छन् । त्यो सस्तो हुन्छ र ठूलो मात्रामा उत्पादन हुनसक्छ । अमेरिकाको सर्लक बायोसाइन्सले पनि एउटा कागजमा आधारित प्रविधि बनाएको छ । त्यसको चर्चा व्यापक छ ।

हार्भर्ड ग्लोबल हेल्थ इन्स्टिट्यूटका डा. टमस साईका अनुसार उपयुक्त र प्रमुख परीक्षण घरमै गर्न सकिने कागजमै आधारित हुनेछ ।

उनी भन्छन्, ‘तर पक्कै पनि प्राविधिक केही सीमितताहरू छन् । हामीले घर बसेका मानिसहरूको आएएनए निकाल्ने र त्यसमा काम गर्ने कल्पना गर्न सक्दैनौँ ।’

फेलुदा परीक्षणले त्यसमा ठूलो फरक पार्न सक्छ ।

सीएसआईआर-आईजीबीएमआरका मलेक्यूलर वैज्ञानिक तथा फेलुदाको विकास गरेको समूहमा संलग्न डा. देवोज्योति चक्रवर्ती भन्छन्, ‘यन्त्र र जनशक्तिका कारण परीक्षण सीमित नहोस् भनेर हामीले सरल, सस्तो र ठिक परीक्षणको निम्ति प्रयास गरिरहेका छौँ ।’

हार्भर्ड मेडिकल स्कूलका डा. स्टीभन किस्लरका विचारमा ठूलो जनसङ्ख्या भएको देश भएकाले भारतसँग परीक्षण कति मूल्यवान् छ भन्ने देखाउने अवसर छ र खाँचो परेका बेला उचित समयमा त्यो आउँदैछ ।

उनी भन्छन्, ‘यदि यसको क्षमता प्रदर्शन गर्न सकियो भने त्यसको लाभ विश्वभरिलाई हुनेछ ।’


– सौतिक विश्वास र कृतिका पाथी / बीबीसी न्यूज


प्रतिक्रिया दिनुहोस्