डा.गोविन्द केसीका माग पूरा गर्न जनगणतान्त्रिक मोर्चाको आग्रह

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ०५


मोहन वैद्य ‘किरण’ नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले शिक्षा सुधारको माग गर्दै आमरण अनशन बसेका डा.गोविन्द केसीको जीवनमा खेलबाड नगर्न सरकारलाई चेतावनी दिएका छन्।

नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति र विसङ्गतिको विरोध गर्दै सुधारका माग राखी २२ दिनदेखि १९ औँ अनशनरत जारी राखेका वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवनमा खेलबाड नगर्न गजुरेलले सरकारलाई चेतावनी दिएका हुन्।

सरकारले डा। केसीसँग विगत अनशनको समयमा गरेका सम्झौता र सहमति कार्यान्वयन नगरी वार्तासमेत गर्न अटेर गर्दै आएको छ। देशभक्त जनतान्त्रिक मोर्चा नेपालका अध्यक्ष गजुरेलले वक्तव्यमार्फत केसीका माग अविलम्ब सम्बोधन गर्न सरकारलाई चेतावनी दिएका हुन्।

गजुरेलको वक्तव्यमा भनिएको छ, ‘नेपालमा शिक्षा र स्वास्थ क्षेत्रमा भइरहेका विकृति र विसङ्गतिको विरोध र यस स्थितिमा सुधार गर्ने उद्देश्यका साथ लामो समयदेखि सक्रिय रहनुभएका अभियन्ता वरिष्ठ चिकित्सक डा। गोविन्द केसीको १९ औं अनशन आज २२ औँ दिनमा प्रवेश गरेको छ । उहाँको स्वास्थ्यस्थिति नाजुक बनेको कुरा उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मूलतः विगतका अनशनका दौरान वार्ताहरूमा भएका सहमतिहरूलाई नै कार्यान्वय नगर्ने अवस्था भएको हुनाले अविलम्ब वार्ता समिति बनाई उपयुक्त मागहरू पूरा गरी उहाँको जीवनरक्षा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ । डा। गोविन्द केसीको जीवनमा खेलबाड गर्ने काम नहोस् । हामी यो सरकारलाई चेतावनी पनि दिन चाहन्छौँ ।’


प्रतिक्रिया दिनुहोस्