राजधानी सार्ने विषयले बुटबलमा विवाद, दलहरुको बैठक बस्नै सकेन

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ५०


बुटवल । बुटवलबाट राजधानी दाङ सार्ने भएसँगै रुपेन्देही यतिबेला चर्चामा रहेको ।

आज १२ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकले यसबारे निर्णय गर्ने जनाइएको छ ।

तर, अस्थायी राजधानीलाई नै स्थायी बनाउनुपर्ने मागसहित बुटवलमा आन्दोलन जारी रहेको छ ।

आइतबार आक्रोशित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमासमेत तोडफेड गरेका थिए ।

सत्तारुढ दलका नेताहरुनै बिरोधमा उत्रिएका छन् ।

सत्तारुढ दलका नेताहरुनै बुटवटबाट दाङ राजधानी सार्ने विषयको विपक्षमा देखिएका छन् ।

यसबारे छलफलका लागि आज बोलाइएको प्रदेश नम्कर पाँचको संसदीय दलको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलनै उपस्थित भएका छैनन् ।

त्यस्तै प्रदेशमन्त्रीहरु पनि संसदीय दलको कार्यालय पुगेका छन् ।

नेकपाका ६१ जना सांसदमध्ये करिब २० जना सांसदमात्र उपस्थित भएपछि बैठक सुरु हुन सकेको छैन ।

बैठक विहान ७ बजेका लागि बोलाइएको थियो ।

सहमतिको प्रयास

रुपन्देहीलाई औद्योगिक एवं पर्यटकीय हब बनाउने प्रतिबद्धता जनाएर प्रदेश ५ सरकार दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्ताव पारित गराउने कसरत भइरहेको नेताहरुको भनाइ छ ।

उक्त प्रस्तावमा सहमति गर्नका लागि असन्तुष्ट नेताहरुसँग विभिन्न चरणमा छलफल जारी रहेको छ ।

नेकपा प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले रुपन्देहीलाई औद्योगिक एवं पर्यटकीय हबसहित केही विकासका नयाँ मोडल सार्वजनिक गरेर राजधानी दाङ लैजाने प्रस्तावबारे छलफल भइरहेको बताए ।

राजधानी सार्ने तर रुपन्देहीको विकासका लागि ठोस काम गर्ने सहमति जुटाउन सोमबार बिहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । लुम्बिनी क्षेत्रका प्रदेशसभा सदस्यले असहमति जनाएपछि बैठक अझै सुरु हुन नसकेको हो । नेकपा प्रमुख सचेतक भूमिश्वर ढकालले भने प्रदेशसभा सदस्य नआएका कारण बैठक सुरु गर्न नसकेको बताए ।

सर्वदलीय बैठक पनि सुरु भएन

नेकपाले सर्वदलीय सहमतिका लागि भन्दै बिहान ८ बजे सर्वदलीय बैठक बोलाएको थियो । सबै दल उपस्थित नभएपछि उक्त बैठक पनि अहिलेसम्म सुरु भएको छैन । प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरु बैठकमा उपस्थित भएका छैनन् ।

कांग्रेसले समेत बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको थियो । तर उक्त बैठक पनि बस्न सकेको छैन ।

दिउँसो १२ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ । जसमा सरकारले लगेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।

 


प्रतिक्रिया दिनुहोस्