आइपिएल क्रिकेटः हैदरावादविरुद्ध शानदार जितसँगै मुम्बई शीर्ष स्थानमा

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ६ : ३१


काठमाडौं । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत आइतबार साँझ सम्पन्‍न खेलमा मुम्बई इण्डियन्सले शानदार जित हात पारेको छ ।

जितसँगै मुम्बई इण्डियन्स अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । प्रतियोगितामा तेस्रो जीत हात पार्ने क्रममा मुम्बईले सनराइजर्स हैदरावादलाई ३४ रनले पराजित गरेको हो ।

सारजाहमा आइतबार मुम्बईले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान डेविड वार्नरले सर्वाधिक ६० रन बनाए पनि टिमको पराजय रोक्न सकेनन् ।

आईपीएलमा वार्नरले आफ्नो कीर्तिमानी ४५औं अर्थशतक बनाएका हुन् ।

वार्नर लिगमा सबैभन्दा धेरै अर्धसतक बनाउने खेलाडी हुन् । वार्नरपछि सुरेश रैना र रोहित शर्माले ३८-३८ अर्धशतक बनाएका छन् ।

हैदराबादका मनिस पाण्डेले ३० रन जोड्दा जोनी बेयार्स्टोले २५ रन बनाए ।

बलिङमा मुम्बईका ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र जसप्रीत बुमराहले २–२ र कुणाल पाण्ड्याले एक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डिककले ६७, इशान किसनले ३१, सूर्यकुमार यादवले २७, कुणाल पाण्ड्याले ४ बलमा अविजित २० र किरण पोलार्डले नटआउट २५ रन बनाएर जितका लागि योगदान गरे ।


प्रतिक्रिया दिनुहोस्