आगामी केहि दिन ट्रम्पका लागि महत्वपूर्ण, यहाँ हुँदैछ उपचार

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ७ : ५९


वासिंगटन । अमेरिकी राष्ट्पति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएपछि अहिले उपचाररत छन्।

ट्रम्पसँगै उनकी पत्नी मेलानिया ट्रम्पमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो।

राष्ट्रपति ट्रम्पको अहिले अबस्था सामान्य नै रहेको बताइएको छ। उनले अस्पतालबाटै सरकारी काम जारी राखेका छन्।

हाल अवस्था सामान्य भएपछि अबको केही दिन वास्तविक परीक्षाको समय हुने ट्रम्पले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

शनिबार साँझ ट्रम्प आफैंले ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै आफूलाई निको हुँदै गएको र अबको केही दिनमा कोरोना विरुद्धको लडाइँको वास्तविक परीक्षण हुने बताएका हुन।

ट्रम्प हाल ७४ वर्षका भए। यो उमेरका मानिसलाई कोरोनाको जोखिम २० को दशकका मानिसलाई भन्दा ९९० गुणा बढी हुने विज्ञहरु बताउँछन्।

२० वर्षका युवामा भन्दा ट्रम्पको उमेरका मानिसको मृत्युदर पनि निकै उच्च छ।

शरीरको प्रतिरक्षा प्रणालीले भाइरसलाई धान्न नसक्दा स्वास्थ्य अवस्था गम्भीर बन्ने चिकित्सकहरु बताउँछन्।

विज्ञहरुका अनुसार कोरोना लागेको ५ दिनसम्मको अवधि महत्वपूर्ण हुन्छ।

लक्षण देखिएको केही दिनपछि मानिसको प्रतिरोधी प्रणालीले कोरोनासँग सबैभन्दा महत्वपूर्ण लडाइँ लड्ने र यो घातक पनि हुनसक्ने जानकार बताउँछन्।

राष्ट्रपति ट्रम्पको हाल मेरिल्याण्ड स्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा उपचार भइरहेको छ।

ट्रम्प सो अस्पतालको ‘प्रेसिडेन्सियल सुइट’ मा उपचाररत छन्।

३९ वर्षमा लामो समयपछि उक्त अस्पतालमा भर्ना हुने ट्रम्प पहिलो राष्ट्रपति बनेको युएस टुेडले उल्लेख गरेको छ।

उक्त अस्पतालमा अमेरिकी सेनाको सबैभन्दा ठूलो अस्पताल हो।

त्यहाँ सैनिक र तिनका परिवारका अलावा राष्ट्रपति, उपराष्ट्रपतिसहित उच्चपदस्थहरुको उपचार हुने गर्छ।

अहिले ट्रम्पको उपचार भइरहेको सुइट सामान्य वार्ड होइन। अस्पतालको प्रेसिडेन्सियल सुइटमा ६ कक्ष छन्। जसमा एउटा आईसीयू, एउटा बैठक कक्ष, भोजन कक्ष, शयन कक्ष, कार्यालय र कन्फ्रेस रुम समेत छन्।


प्रतिक्रिया दिनुहोस्