जर्मनी एकीकरणका तीस वर्ष पूरा

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ६ : ४४


जर्मनीले शनिबार कोरोनाभाइरस महामारीबीच संक्षिप्त कार्यक्रम गरी दुई जर्मनीबीचको पुनःमिलनको उत्सव मनाएको छ।

बर्लिनबाट करिब २५ किलोमिटर दक्षिण पश्चिममा पर्ने पोट्सड्याम शहरमा आयोजित समारोहमा राष्ट्रपति फ्रान्क–वाल्टर स्टेनमेयर र चान्सलर एन्जेला मर्केल सहभागी भइन्।

दोस्रो विश्वयुद्ध पश्चात् शीतयुद्धका चार दशकसम्म अलग रहेका पूर्वी र पश्चिम जर्मनी सन् १९९० मा एकीकृत भएका थिए।

“हामी शीतयुद्धको अन्त्य र नयाँ युगको आरम्भका दिन आज पुनःस्मरण गर्दैछौं,” स्टेनमेयरले बताए । उनले अगाडि भने, “आज हामी एउटा सर्वोत्कृष्ट र एकीकृत जर्मनीमा बाँचिरहेका छौँ।”

स्टेनमेयरले जर्मनी विगत ३० वर्षको अवधिमा पुनःमिलन र आप्रवासनका कारण धेरै विविधतापूर्ण भएको बताए। उनले क्षेत्र र धर्मका मतभिन्नतालाई परित्याग गरेर अझ सुदृढ एकताका लागि आह्वान गरे ।

कार्यक्रममा बोल्दै चान्सलर मर्केलले जर्मनीका प्रत्येक नागरिकले विशिष्ट साहस र उत्साहका साथ अघि बढ्नुपर्ने समय आएको बताए।

उनले भने, “कोरोनाभाइरसको महामारी बेलामा नयाँ उत्साह चाहिएको छ, पूर्वपश्चिम जर्मनीबीचमा रहेका कतिपय मतभेदलाई तोड्नु पर्नेछ ।”

यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले पुनःमिलनका अवसरमा ट्वीट गर्दै जर्मन जनतालाई बधाई दिएका छन।

उनले भनेका छन्,“जर्मनी ३० वर्ष अघि पुनःमिलन भएको थियो जसले युरोपियन पुनःमिलनको बाटो खोलेको थियो । आज हामी प्रजातन्त्र र प्रगति, हाम्रो सार्वभौमिकता र युरोपियन ऐक्यवद्धतालाई थप अघि बढाउँदैछौँ ।”

अमेरिका र तत्कालीन सोभियत संघबीच दशकौं लामो शीतयुद्धको अवधिमा जर्मनी पूर्वी (जर्मनी) र पश्चिम (जर्मनी) का रुपमा विभाजित थियो।

तर सन् १९८९ नोभेम्बर ९ मा जनताले बर्लिन पर्खाल ढालेसँगै दुई जर्मनीबीच पुनःमिलनको बाटो खुला भएको थियो । पछि सन् १९९० अक्टोबर ३ मा जर्मन पुनःमिलन सन्धिमा हस्ताक्षर भएको थियो ।

त्यसबेलादेखि, जर्मन एकता दिवसलाई देशको राष्ट्रिय विदाका रूपमा मनाइन्छ।


प्रतिक्रिया दिनुहोस्