दशैं खर्च जुटाउन ६० लाखमा बाघको छाला बिक्री गर्ने ४ जना काठमाडौंबाट पक्राउ

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ४ : ५४


काठमाडौं । काठमाडौंको स्वयम्भू क्षेत्रमा ६० लाख रुपैयाँमा पाटे बाघको छाला बेच्न लागेका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले संरक्षित वन्यजन्तु पाटे बाघको छाला बिक्री गर्न लागेको अवस्थामा ४ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा गएको प्रहरीको टोलीले स्वयम्भूस्थित होटल प्लाजाको कोठा नम्बर २०८ बाट पाटे बाघको छालासहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–५ का ४३ वर्षीय टेकबहादुर तामाङ, सोही ठाउँका २८ वर्षीय सुजन थिङ, २७ वर्षीय आशिष तामाङ र मकवानपुरको थाहा नगरपालिका–८ घर भएका २४ वर्षीय सानुकान्छा तामाङ छन् ।

प्रहरीका अनुसार उनीहरुले धादिङका एक स्थानीयबाट ३५ लाख रुपैयाँमा बाघको छाला किनेर ल्याएको बयान दिएका छन् ।

काठमाडौंमा ल्याएर ६० लाख रुपैयाँमा बिक्री गर्ने तयारी भइरहेको पनि उनीहरुले प्रहरीलाई बयान दिएका छन् ।

उनीहरुले दशैंको खर्च जुटाउनका लागि भनेर ३५ लाखमा बाघको छाला किनेर ६० लाखमा बिक्री गर्न लागेको प्रहरीलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्