सवारीसाधन हराए वा चोरी भए अब अनलाइनबाट निवेदन दिन पाइने, यसरी भर्नुस् फर्म

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : ३०


काठमाडौं । सवारीसाधन हराएको तथा चोरी भएको निवेदन अब अनलाइनबाटै दिन पाइने भएको छ ।

प्रहरी प्रधान कार्यालयको सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको सवारीसाधनबारे उजुरी र निवेदन अनलाइनबाटै दिन सक्ने व्यवस्था आइतबारबाट गरेको हो ।

यो सेवाको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोख्रेलले यस्तो सेवाको उद्घाटन गरेका छन् ।

यसका साथै अब सवारीसाधन हराएकाले निवेदन र सिफारिसको लागि ट्राफिक कार्यालय धाउनुपर्ने दिनको अन्त्य भएको छ ।

निवेदन दिन सवारीधनीले ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गएर फर्म भर्नुपर्ने हुन्छ ।

वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेशन भित्र रहेको लस्ट भेइकल एप्लिकेसन (Lost Vehicle Application) मा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि सेवाग्राहीले एप्लिकेशनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो  विवरण भर्नुपर्ने हुन्छ ।

माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेशन नम्बर प्राप्त गर्न सक्नेछन् र सेवाग्राहीले अनलाइनबाटै सवारीसाधन फेला परे/नपरेको थाहा पाउन चेक एप्लिकेशनमा क्लिक गरी दिएको एप्लिकेशन नम्बर, पूरा नाम थर र सवारी नम्बर राखेर चेक गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्