विजयकुमारले प्रधानमन्त्रीसँग यस्तो सहयोग मागे

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  २ : ५६


काठमाडौं । विगत २१ दिनदेखि भोकभोकै संघर्षमा रहेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

आइतबारबाट डा.केसीलाई छातीमा पीडासँगै सास फेर्न असहज भएपछि अक्सिजन दिन थालिएको छ।

छातीमा अत्यधिक पीडा महसुस गरेसँगै उनको शरीरमा अक्सिजनको मात्रा पनि घट्दै गएको डा केसीका सहयोगीहरुले बताएका छन्।

अनसन बसेको लामो समय हुँदा समेत सरकारले डा केसीका मागप्रति कुनै वास्ता गरेको छैन।

यसैबीच, सामाजिक सञ्जाल मार्फत विभिन्न व्वक्तित्वहरुले डा केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन्।

वरिष्ठ पत्रकार विजयकुमारले प्रधानमन्त्री केपी ओलीलाई ट्विटमा मेन्सन गर्दै डा.केसीको जीवनरक्षा गर्न माग गरेका छन्।

डा.केसीको पक्षमा काठमाडौंको माइतिघर सहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।

यसैबीच, एक्काइस दिनदेखि आमरण अनसनमा रहेका डा। केसीको जीवन रक्षा तथा उनले उठाएका एजेण्डाको सुनवाइ हुनु पर्ने माग गर्दै डाक्टरहरु पनि आन्दोलित भएका छन्।

डा केसी अनसनरत रहेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत् डाक्टर तथा अन्य स्वास्थ्यकर्मीहरुले आइतबार अस्पताल परिसरमै विरोध प्रदर्शन गरेका हुन्।

 

चिकित्सकहरुले ‘डा केसीको माग पूरा गर’, ‘जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्युटावर’, ‘कर्णाली विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै’, ‘हिजोको सम्झौता कता गयो?’, ‘लुटतन्त्र बन्द गर’, ‘हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डा केसीको साथमा’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

 


प्रतिक्रिया दिनुहोस्