रौतहटमा जिउँदा व्यक्तिलाई इटाभट्टामा जलाएर ‘मार्ने’मध्येका थप १ जना पक्राउ

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ४६


रौतहट । जिउँदा व्यक्तिलाई इट्टभट्टामा हालेर जलाएको मुद्दाका अर्का अभियुक्त (प्रतिवादी) पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका–४ बस्ने ५५ वर्षीय बद्री सहनी छन् । उनलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीको टोलीले रौतहटको बौधीमाई नगरपालिका–७ बड्की बंकुलबाट पक्राउ गरेको हो ।

२८ चैत २०६४ मा हुने संविधानसभाको निर्वाचनलाई प्रभावित विस्फोट गर्ने उद्देश्यसहित बनाउन लागिएको बम विस्फोट हुँदा चैत २७ गते १६ जनाभन्दा बढी घाइते भएका थिए ।

रौतहट जिल्लाको साविक राजपुर फरहदाव गाविस–४, हाल राजपुर नगरपालिका–४ स्थित शेख इन्द्रिशको गोठमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको योजनाअनुसार विस्फोट गर्ने गरी बनाउन लागिएको बम बनाउने क्रममा नै विस्फोट भएपछि स्थानीय नारायणसिंह राजपुतका छोरा त्रलोकप्रताप सिंह राजपूदतसहित अन्य १६ जना घाइते भएकोमा घाइतेलाई इटाभट्टामा जलाएर मारिएको थियो ।

चुनाव प्रभावित विस्फोट गर्ने तयारी गर्दा गर्दै वम विस्फोट भएको घटना बाहिरिने डरका कारण कांग्रेस नेता आलमको निर्देशमा घाइतेहरुलाई ट्याक्टरमा हालेर इटाभट्टामा लगी जलाएर मारिएको थियो ।

घाइतेलाई इटाभट्टामा जलाउनेमध्येका सहनीलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनी घाइतेहरु जलाइएको इटाभट्टाको हेड मिस्त्री थिए । आलमको निर्देशनमा सहनीले नै घाइतेहरुलाई भट्टाको चिम्नीमा हालेर जलाएका थिए ।

घटनाका मुख्य योजनाकार भनिएका कांग्रेस नेता आलम भने अहिले मुद्दाको पुर्पक्षका लागि थुनामा छन् ।


प्रतिक्रिया दिनुहोस्