कोरोनाबाट मुटुरोगीलाई हुनसक्ने जोखिमहरु यस्ता छन्

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ६ : ५६


कोरोना भाइरस समुहको सार्स–कोभि–२ (SARS-COV-2) नामक भाइरसले उत्पन्न गराउने कोरोना भाइरस रोग २०१९ अथवा कोभिड–१९ (COVID-19) हाल विश्वभर फैलिएर करोडौंलाई असर गरिसकेको छ।

गत वर्षको डिसेम्बर दोस्रो साता उत्पन्न भएको यस रोगको असरलाई ध्यानमा राखेर विश्व स्वास्थ्य संगठन(WHO)ले २०२० मे महिनामा यो रोगलाई महामारी घोषणा गरेको थियो।

यो रोग देखा परेको झण्डै १ वर्ष हुनै लाग्दा सम्म ३ करोड ५० लाख भन्दा बढिलाई प्रत्यक्ष असर गरिसकेको छ भने १० लाख भन्दा बढिले ज्यान गुमाइसकेका छन्।

त्यस्तै नेपालमा समेत ८३ हजार बढि संक्रमित हुदा ५ सय भन्दा बढिले ज्यान गुमाइसकेका छन्। कुनैपनि उमेर समुहका व्यक्तिलाई लाग्न सक्ने यो रोग कतिपय जोखिम कारकहरु भएका व्यक्तिमा जटिल रुप लिन सक्छ। यी जोखिम कारकहरुमा वृद्धावस्था, मोटोपन, मधुमेह, उच्च रक्तचाप, विभिन्न खाले मुटुरोग, दम आदी पर्दछन्।

के हो मुटुरोग?

मुटुरोग आफैंमा विश्वभर मृत्युको प्रमुख कारकमध्ये एक हो । मुटुरोग भन्नाले हृदय तथा रक्तवहिनी नलिमा उत्पन्न हुनसक्ने विभिन्न समस्याहरुलाई भन्ने गरिन्छ । यो रोगमा मुख्यतया प्रमुख रक्तवहिनी नलिहरुमा चिल्लो पदार्थ जम्मा हुने र उक्त नलिमा रगतका चोक्टा बन्नसक्ने खतरा रहन्छ।

त्यस्तै अन्य प्रमुख अंगहरु जस्तैः– दिमाग, मृगौला तथा आँखामा जाने नलिहरुमा समेत असर पुर्याउन सक्छ।

प्रमुख मुटुरोगहरुमा कोरोनरी धमनी (Coronary Artery) अर्थात हृदयघात, मष्तिष्कघात, परिधीय धमनी रोग (Peripheral Arterial Dissease) तथा महाधमनी रोग (Aortic Disease) पर्दछन्।

मुटुरोग उत्पन्न गराउन प्रमुख भूमिका खेल्ने कारकहरु उच्च रक्तचाप, धुम्रपान, उच्च चिल्लोपना, मधुमेह, मोटोपना आदी हुन। यी प्रमुख कारकहरुको ध्यान पु¥याउ सकियो भने मुटुरोगको जोखिमलाई नियन्त्रण गर्नसकिन्छ।

मुटुरोगमा शरिरको मुख्य अंगहरुमा रगत संचालन गर्ने धमनीहरु साँघुरो भएर अथवा थुनिएर रगत संचालन बन्द हुन्छ र सिघ्र उपचार नपाए मृत्यु हुने जोखिम ज्यादा हुन्छ।

मुटुरोगीलाई कोरोनाको असर

मुटुरोग कोरोना संक्रमणको प्रमुख जोखिम कारकमध्ये एक हो। तथ्यांक अनुसार कोरोना भाइरस समुहले गराउने सार्स (SARS) र मर्स (MERS ) रोगहरु लागेका व्यक्तिमा क्रमशः १० प्रतिशत र ३० प्रतिशतमा मुटुरोग देखिएको छ।

त्यस्तै बिभिन्न देशहरुमा गरिएको अनुसन्धान अनुसार कोभिड–१९ रोगमा पनि ५–३० प्रतिशतमा मुटुरोग देखिएको छ भने कोरोनाका कारण मृत्यहुनेहरुमा मुख्यतया मुटुरोगीहरु नै रहेका छन्।

मुटुरोग लागेका व्यक्तिलाई कोरोना संक्रमणको उच्च जोखिम देखिएकोछ तथा जटिल समस्या आउनसक्ने जोखिम पनि त्यतिनै धेरै हुन्छ।

त्यसैगरि कोरोनाको संक्रमणको क्रममा मुटुको मांसपेशीमा असर पुगेर मुटुरोग उत्पन्न हुनसक्ने जोखिम पनि रहन्छ। साथै कोरोनाका रोगिहरुमा उच्च रक्तचाप पनि मुख्य समस्या रहेको पाइएको छ जुन १५–३५ प्रतिशत संक्रमितमा हुने गरेको देखिन्छ।

कोरोना संक्रमित मृतकहरुको मुटुको मांसपेसिमा संक्रमणका तत्वहरु भेटिएको पाइन्छ जसले मायोकार्डिएम अर्थात मुटुको मांसपेसिमा असर गर्छ। त्यस्तै कोरोना संक्रमितमा मुटुमा असरपर्दा बढ्ने तत्वहरुसमेत रगतमा बढेको पाइन्छ। यस्तो अवस्थामा मुटुको चालमा अनियमितता समेत हुनसक्ने देखिएकोछ।

यस्ता समस्याहरु देखिने कारण कोरोनाले मुटुबाट उत्पादन हुने एन्जाइममा असर पार्ने तथा रोग प्रतिरक्षा प्रणालीमार्फत विभिन्न हानिकारक तत्वहरु उत्पादन गरेको हुनसक्छ । साथै कोरोनाले फोक्सोमा हानी गरेपश्चात मुटुको कार्यक्षमतामा ह्रास आई विभिन्न समस्या उत्पन्न हुनसक्छ।

रोग प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरुमा संक्रमणको जोखिम बढि हुन्छ। त्यसअन्तर्गत मुटु प्रत्यारोपणमा पनि जोखिम रहेको देखिन्छ। प्रत्यारोपण गरेका व्यक्तिमा रोग प्रतिरक्षा क्षमता कम हुने गर्छ जसकारण कोरोनाको जोखिम उत्पन्न हुनसक्ने जटिलता तथा मृत्युदर धेरै हुनसक्छ।

मुटुरोगका लक्षणः

मुटुरोगका मुख्य लक्षणहरुमा छाती दुख्ने, सास फेर्न गाह्रो हुने, खोकि लाग्ने, मुटुको चाल तीब्र हुने आदी हुन्। कोभिड–१९ ले मुख्यतया फोक्सोमा असर गर्ने हुनाले स्वासप्रस्वासमा समस्या खोकि आदी अधिकतम देखिन्छ भने केहिमा छाती दुख्ने समस्या नै मुख्य रुपमा देखिन सक्छ।

मुटुको चालमा अनियमितता एक मुख्य खतरा हुनसक्ने भएकोले यस महामारीको अवस्थामा स्वास्थ्यकर्मीहरुले मुटुको चाल कम वा बढिहुँदा हुने लक्षणहरु ध्यानमा राख्नुपर्ने हुन्छ । साथै स्वास्थ्य निकायहरुले चालको अनियमिततालाई समयमै यकिन गरि उपचार गर्न योजना बनाउनु जरुरी हुन्छ।

त्यस्तै न्युमोनिया लागेका कोरोना संक्रमितमा पनि मुटुरोगको खतरा धेरै रहन्छ। त्यसैले न्युमोनिया तथा पुरानो मुटुरोगीको उपचारमा पनि हुनसक्ने जटिलता कम गर्न जोखिम निर्धारण गरि उचित उपचार पद्धति अपनाउनु जरुरी छ।

कोरोना संक्रमितमा मुटुरोग भएको नभएको यकिन गर्न विभिन्न जाँचहरु सहयोगी हुनसक्छ । इ.सी.जी. (ECG) बाट प्रायजसो मुटुरोग पत्ता लाग्न सक्छन् भने रगतमा मुटुको क्षतिहुँदा बढ्ने तत्वहरुको मात्रा मापन गरेर पनि मुटुमा क्षति भएको पत्ता लाग्छ।

मुटुको मांसपेसी टुक्रेर उत्पन्न हुने यी मुटुरोगका तत्वहरु हृदयघातको खतरा यकिन गर्न समेत प्रयोग हुन्छ। त्यस्तै मुटुमा केही क्षति भएनभएको हेर्न इको–कार्डियोग्राफी (ECHO) सहयोगी हुन्छ। यसले मुटुको संरचना र कार्यक्षमतामा समस्या भएनभएको देखाउँछ।

उपचार पद्धतिः

मुटुरोगीको उपचार गर्नुअघि कोरोनाको जाँच गर्नु जरुरी हुन्छ । जसमार्फत स्वास्थ्यकर्मीले उपचारको क्रममा उचित बचावटका उपायहरु अपनाउन सक्छन् र विरामीको उपचारको पद्धती यकिन गर्न सक्छन् । हृदयघातका बिरामीहरुमा जोखिमको निक्र्योल गर्नुपर्छ र उच्च जोखिममा रहेका बिरामीलाई कोभिड–१९ उपचारमा संलग्न अस्पतालमा इन्भेसिभ(Invasive)उपचारको लागि व्यबस्था मिलाउनु पर्छ ।

उच्च जोखिममा रहेका बिरामीलाई तुरुन्त उपचार चाहिने हुनाले उनिहरुलाई कोभिड संक्रमित अन्दाज गरि उचित बचावटका तरिका अपनाएर रक्तनलिमा रगतप्रवाह वढाउने उपचारको थालनी गर्नुपर्छ।

त्यस्तै मुटुको असफलता भएमा उचित वातावरण र आवश्यक अनुसार आइ.सी.यु. मा राखेर मुटुको चाल, तीब्रता आदिमा परिवर्तन गराउने औषधिहरु प्रयोग गरि सामान्यतया गरिने उपचार गर्न सकिन्छ। त्यस्तै मुटुको चाल स्थीर राख्ने यन्त्रहरु मुटुमा जडान गर्दा संक्रमण हुने जोखिम धेरै हुन्छ तसर्थ उपयुक्त सावधानी अपनाउनु जरुरी छ।

त्यस्तै मुटुरोगको उपचारमा प्रयोगहुने अन्य उपायहरु प्रयोग गर्नुअघि जोखिम निर्धारण गरि अत्यावश्यक परिस्थितिलाई प्राथमिकता दिने गर्न सकिन्छ। त्यस्तै उच्च रक्तचापका बिरामीलाई समेत आवश्यकता अनुसार औषधिउपचार गर्न सकिन्छ। अस्पताल सेवा आवश्यक नभएका बिरामीलाई घरमै औषधिमार्फत रक्तचाप नियन्त्रण गर्न सकिन्छ।

त्यस्तै लामोसमयदेखि रक्तचाप उच्च रहेका बिरामीमा मुटुरोग र चालसम्बन्धि समस्या आउने हुनाले रगतमा इलेक्ट्रोलाइट्स (Electrolytes)को मात्रा नियन्त्रणमा राख्नुपर्छ।

त्यस्ते संक्रमित तथा उच्च रक्तचाप भएका व्यक्तिमा तीब्र मृगौला क्षति भएको पाइएमा रक्तचाप नियन्त्रण गर्ने औषधिहरु रोक्नुपर्ने हुन्छ । तसर्थ उच्च रक्तचाप भएका बिरामीले केहि समस्या आएमा स्वास्थ्यकर्मीसंग छलफल गरि उचित उपचार योजना बनाउनुपर्छ।

त्यस्तै कोरोना संक्रमितमा रगत नलिमा जम्ने क्षमतामा परिवर्तन हुनसक्ने हुनाले भर्ना भएका बिरामीमा रगत नजम्ने औषधिको प्रयोग पनि गर्न सकिन्छ।

यी बिरामीमा फोक्सोमा रगत जम्ने हुनसक्छ जसलाई इ.सी.जी. जाँचबाट पत्ता लगाई उचित औषधि प्रयोग गर्न सकिन्छ। औषधिहरुको प्रयोग गर्नुअघि एन्टिभाइरल औषधिहरुको मुटुरोगमा प्रयोग हुने औषधिहरुसंग के कस्तो अन्तरक्रिया हुन्छ अध्ययन गर्नु जरुरी हुन्छ।

कोरोनाका बिरामीमा नयाँ मुटुरोग उत्पन्न हुनसक्ने हुनाले कोरोनाको लक्षण लक्षित उपचार तथा एन्टिभाइरल औषधिहरु जस्तै रेम्डेसिभर(Remdesivir), लोपिनाभिर–रीटोनाभिर (Lopinavir-Ritonavir) को प्रयोग गर्न सकिन्छ।

त्यस्तै कोरोनाको जोखिमका कारण बढ्नसक्ने मृत्युदर नियन्त्रण गर्न सरकार तथा विभिन्न निकायले स्वास्थ्य सेवा, आइ.सी.यु. सेवा, भेन्टीलेटर सेवा आदिको गुणस्तर तथा उपलब्धता बनाइराख्न उचित उपाय अपनाउन जरुरी हुन्छ।

मुटुरोगीले अपनाउनुपर्ने सावधानीः

मुटुरोगीमा कोरोनाका असरहरु धेरै रहेको र जटिलतासमेत रहेका कारण मुटुरोगीले कोरोना लाग्न नदिन बिशेष सतर्कका अपनाउनु जरुरी छ।

कोरोनाबाट बच्न बेलाबेलामा हात धुने, मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, लकडाउनको पालन गर्ने जस्ता प्रमुख उपायका साथै आफ्नो रोगको उचित नियन्त्रणको उपाय अपनाउनुपर्छ।

स्वास्थ्यकर्मी संग सहकार्य गरि आफ्नो रोगको उपचारमा के कस्तो सुधार ल्याउने तथा के कस्तो परिस्थितिमा आकस्मिक उपचारको उपयोग गर्ने आदी जान्नु जरुरी छ।

त्यस्तै स्वास्थ्यकर्मीले पनि बिरामीको रोग अनुसार जोखिम निर्धारण गरि के कस्तो उपचार प्रणाली उपयोग गर्ने सल्लाह दिनुपर्ने हुन्छ। साथै उच्च रक्तचाप तथा मुटुरोगका बिरामीले जटिल समस्या आउन नदिन जीवनशैलीमा सुधार गर्ने, व्यायाम गर्ने, खानपानमा ध्यान पुर्याउने, धुमपान नगर्ने चिल्लो कम खाने आदि गर्नुपर्छ।

मुटुरोगीमा कोरोनाले निम्त्याउन सक्ने समस्याहरु भयावह त छन् तर आफ्नो उचित तयारी, उपचारमा नियमितता र समयमै स्वास्थ्यकर्मीको उचित सल्लाह अनुसार दैनिक जिवन पद्धती विकास गर्न सकियो भने समस्याहरुलाई मुख्यतया नियन्त्रण गरि स्वस्थ जीवन यापन गर्न सकिन्छ।

(लेखक के.एम.सी. मा प्रशिक्षार्थी चिकित्सकको रुपमा कार्यरत छन्)


प्रतिक्रिया दिनुहोस्