काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षार्थ खटिएका ठूलो संख्यामा सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
अधिकारीहरुका अनुसार करिब ७० जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि हुनेमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी छन्।
सचिवालयमै कार्यरत केही सवारी चालक र सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। केहीको रिपोर्ट आउनै बाँकी छ।
प्रधानमन्त्रीको सुरक्षाको पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा भने संक्रमण नदेखिएको र केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ।
यसअघि आजै प्रधानमन्त्री ओलीका सचिवालयका ३ सल्लाहकार र एक स्वकीय सचिवमा गरि चार जना सदस्यमा संक्रमण पाइएको छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।