प्रदेश ५ को राजधानी दाङ बनाउने निर्णय विरुद्ध बुटवलमा प्रदर्शन

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ३९


काठमाडौं । प्रदेश ५ को राजधानी दाङ बनाउने निर्णय विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ।

राजधानी दाङ सार्ने निर्णय सार्वजनिक भएलगत्तै बुटवलमा बिरोध प्रदर्शन सुरु भएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेवि संघको नेतृत्वमा सो प्रदर्शन भएको थियो।

रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण पोखरेलका अनुसार तोडफोडका क्रममा चारवटा सरकारी गाडीमा क्षति भएको छ।

यसैबीच, प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय रुपन्देही कांग्रेसले नमान्ने भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीले आफ्ना सांसदहरुलाई भालुवाङ बनाउने प्रस्तावको बिपक्षमा मतदान गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटी अध्यक्ष खेलराज पाण्डेले देउवा नेतृत्वको नेपाली कांग्रेसको तत्कालीन सरकारले बुटवललाई राजधानी बनाउने प्रस्ताव नेकपा नेतृत्वले अन्यत्र सारेको भन्दै कुनै हालतमा स्वीकार गर्न नसकिने बताए।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै अध्यक्षको सहमति भन्दै पार्टी सचिवालय बैठकको निर्देशन पछि प्रदेश सरकारले प्रदेशको नाम लुम्विनी र राजधानी भालुवाङ तोक्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेको छ।

प्रदेश सभाको बैठकमा आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशको नाम लुम्विनी र राजधानी दाङको भालुवाङ प्रस्ताव गर्नासाथ कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले बिरोध जनाएका थिए।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल भने दाङमा राजधानी बनाउने पक्षमा थिए ।

 


प्रतिक्रिया दिनुहोस्