नागरिक जोगाउनु सरकारको पहिलो दायित्व : पूर्वमन्त्री बाँस्कोटा

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ४ : ५७


पूर्वमन्त्री नेकपाका केन्द्रीय सदस्य गोकुलप्रसाद बाँस्कोटाले कोरोना भाइरसको महामारीबाट नागरिक जोगाउनु सरकारको पहिलो दायित्व भएको बताएका छन।

उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित नेकपा वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा सरकारले वर्तमान परिस्थितिमिा आफ्ना नागरिक जोगाउनु पहिलो प्राथमिकता भएको बताएका हुन।

“महामारीमा सरकारले पहिला नागरिक जोगाउनुपर्छ, त्यसपछि विकासको कामलाई निरन्तरता दिइन्छ, तै पनि विकास त निरन्तर छ नै, विकास नागरिकलाई चाहिने हो, नागरिक नै नरहे विकास के का लागि?” बाँस्कोटाले प्रश्न गरे।

बाँस्कोटाले पाँच वर्षमै ‘धुरन्धर’ विकास हुने हो भने निर्वाचन तथा तीन तहका सरकार र जनाप्रतिधि आवश्यक नपर्ने बताउँदै विकास नयाँनयाँ प्रविधिसहित निरन्तर भइरहने विषय भएको बताए।

“अहिले हामी विकासका कामसँगै जनताको स्वास्थ्य–सुरक्षामा विशेष ध्यान दिइरहेका छौँ, सरकारले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य–सुरक्षा दिनेछ, नागरिक पनि आफैँ सचेत बन्नुपर्छ”, उनले दोहोर्याए।

बाँस्कोटाले पर्यटनको विकासका लागि बनेपामा आन्तरिक विमानस्थलको काम अघि बढिरहेको बताए।

उनले नेकपामा उचित व्यक्तिलाई उचित स्थान दिँदै पार्टी निर्माण प्रक्रिया भावना र मर्मअनुसार चलिरहेको दाबी गरे।

“सरकारका आलोचकलाई हाल सञ्चालन भइरहेका र शुरु भएका दीर्घकालीन राष्ट्रिय महत्वका आयोजनाले गतिलो जवाफ दिइरहेको छ”, उनले भने।

सो अवसरमा उनले नेपाली काँग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्नेलाई सदस्यता प्रदान गरे।

कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, संविधानसभा सदस्य रामहरि सुवेदी, वाग्मती प्रदेशसभा सदस्यद्वय वसुन्धरा हुमागाईं र चन्द्र लामा, नेकपाका नेता बालकृष्ण कर्माचार्यलगायतले कोरोना महामारीले हाल विकासलाई केहीपछि परेकोमा दुःख व्यक्त गर्दै पार्टी सुदृढीकरण र एकतालाई सार्थकता दिन महाधिवेशनअगावै स्थानीय कमिटीसम्म नेतृत्व दिलाउन आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस्