आधा किलो सुनसहित कपिलवस्तुबाट १ जना पक्राउ

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ११ : ०५


काठमाडौं । नेपालबाट भारततर्फ तस्करी भइरहेको अवस्थामा कपिलवस्तु प्रहरीले आधा किलो बढी सुन बरामद गरेको छ ।

नेपालबाट भारततर्फ सुन तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–७ बनकसियास्थित सडकमा चेकजाँच गर्दा सुन तस्करीमा संलग्न १ जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मायाँदेवी गाउँपालिका–४ का ३२ वर्षीय पवन गुप्ता छन् । प्रहरीले उनको साथबाट २४ क्यारेटको सुन ४३ तोला (आधा किलो), १८ क्यारेटको सुनको सिक्रि १ तोला ४७ लाख र १८ क्यारेटको सुनको औंठी ३ आना बरामद गरेको हो ।

प्रहरीले गुप्ताको साथबाट बरामद भएको सुनको बजार मूल्य ४२ लाख ३ हजार ९६ रुपैयाँ रहेको जनाएको छ ।

उनले कम्मरमा बाँधेको निलो रङको थैलीमा लुकाइ छिपाइ सुन भारततर्फ लैजान लागेका थिए । प्रहरीले गुप्ताको साथबाट सुनसहित ८ हजार ९ सय २८ रुपैयाँ नगद र उनी सवार मोटरसाइकल १ थान पनि बरामद गरेको छ ।

लु ५६ प ६३१० नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा प्रहरीले सुन बरामद गरेको हो । प्रहरीका अनुसार गुप्ताले चलाएको मोटरसाइकलको पछाडि १६ वर्षकी एक किशोरी समेत थिइन् ।

प्रहरीले किशोरीलाई पनि नियन्त्रणमा लिइएको जनाएको छ । तर, सुन तस्करीमा ती किशोरीको पनि संलग्नता रहेको देखिने प्रमाण फेला नपरेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्