काठमाडौं । सरकारले डा.गोविन्द केसीलाई अनसन स्थगित गर्न आग्रह गरेको छ।
बिहिबार सरकारका पछिल्ला निर्णय सार्वजिनक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अहिले सबै नागरिकलाई कोरोनाबाट कसरी जोगाउने भनेर लाग्नुपर्ने बेलामा अनशन, सत्याग्रह, धर्ना सुहाउँदो विषय नभएको बताए।
प्रवक्ता ज्ञवालीले अहिले देशमा असामान्य अवस्था रहेको भन्दै अनशन, धर्नालगायतका आदोलन गर्न उपयुक्त नहुने बताए।
कोरोनाको जोखिमपछि बाँकी कुराहरु छलफल गर्न सकिने भन्दै सबै जना अहिले कोरोनाबाट उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न लागिपर्नुपर्ने बताए।
‘केही विषय बाँकी छ भने पछि छलफल गर्न सकिन्छ। मेरो नेपाल सरकारको तर्फबाट उहाँलाई आग्रह छ, उहाँका साथीहरुलाई आग्रह छ। अहिले अनशन फिर्ता लिएर हामी सबै कोभिड विरुद्धको लडाईंमा जोडियौं। जनतालाई महामारीबाट जोगाउऔं, बाँकी विषय त हामी समय क्रममा छलफल गर्दै जान सक्छौं’ मन्त्री ज्ञवालीले भने।
चिकित्सा शिक्षा र स्वास्थ्यमा सुधारको माग राख्दै डा केसीले जुम्लाबाट सुरु गरेको १९ औं अनसन अहिले पनि जारी छ। असनसनको १८ दिन पुग्दा उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ।