बलि दिन भारततर्फ लैजाँदै गर्दा २ किशोरीको उद्धार

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : १५


सुनसरी । ललाई फकाई प्रलोभनमा पारी २ जना महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सप्तरी कृष्ण सवरन गाउपालिका-४ बनौली बस्ने २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लहान नगरपालिक-(१९ कटाह वस्ने २९ वर्षीय जिवछकुमार साह रहेका छन्।

स्थानीय प्रहरीले सशस्त्र प्रहरी बल समेतको सहयोगमा सुनसरी कोशी गाँउपालिका-८ पूर्वी टोला नाका र भारतको सुपोल जिल्ला भिमनगर-१२ वोर्डर इलाकाबाट ती महिलालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले भारत सुपौल भिमनगरस्थित बाबाको मन्दिरमा पूजामा बस्नु पर्ने, पूजामा बसे वापत पारिश्रमिक पाउने, कुनै दुःख, बिरामी भए सो समेत सञ्चो हुने र पूजा समाप्त हुनासाथ घर फिर्ता गरीदिने भनि प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन्।

नियन्त्रणमा लिएका एकले आफू किशोरीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन्।

नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको भनी उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ।

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन्। भारततर्फ लैजानु पूर्व उनीहरुको उचाइसमेत नापिएको थियो। त्यसैगरी हातको रेखासमेत हेरी पूजाका लागि योग्य भनी ठहर गरिएको थियो ।

सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत रु दुई लाख रकम दिने भनिएको थियो । चौधरी थर भएका युवतीहरु निकै सोझा रहेको प्रहरीले जनाएको छ


प्रतिक्रिया दिनुहोस्