जनकपुरधाम । नेपाली नागरिकताको प्रमाण पत्र प्राप्तीका लागि सिफारिस गराइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका १ जना कर्मचारी पक्राउ परेका छन् ।
पूर्व सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर १३ को वडा कार्यालयका सहयोगी दीलिप पञ्जियारलाई घुससहित पक्राउ गरेको हो ।
अख्तियारका अनुसार पञ्चियारले नागरिकताको सिफारिस बनाइदिने भन्दै सेवाग्राहीसँग २४ हजार रुपैयाँ घुस रकम माग गरेका थिए ।
सेवाग्राहीको तर्फबाट उजुरी परेपछि अख्तियारको टोलीले पञ्चियारमाथि निगरानी बढाएको थियो ।
बिहीबार सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले वडा नम्बर १३ को कार्यालय परिसरबाटै पञ्जियारलाई नियन्त्रणमा लिएको हो ।