अनसनरत डा.केसीलाई भेटेर बाबुरामले भने-‘म लज्जित छु’

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : २६


काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेका डा.गोविन्द केसीले १९ औं अनसन थालेको आज १७ औं दिन पूरा भएको छ।

अनसन बसेको लामो समय हुँदा उनको स्वास्थ्य कमजोर बन्दै गएको छ। उनले माग पूरा नहुन्जेल कुनैपनि उपचार नगर्ने अडान लिएका छन्।

सरकारले भने डा.केसीको मागलाई वास्ता गरेका छैन। सरकारी अधिकारी बाहेक प्रतिपक्षी नेताहरु भने डा.गोविन्द केसीलाई भेट्नर उनका मागमा ऐक्यबद्धता जनाउन अस्पताल पुग्ने गरेका छन्।

बुधबार पूर्व प्रधानमन्त्री एवं जसपा नेता डा.बाबुराम भट्टराईले डा केसीलाई भेटेर उनको मागप्रति ऐक्यबद्धता जनाएका छन्।

पत्नी हिसिला यमीसँग पुगेका डा.भट्टराईले केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै केसीको माग र स्वास्थ्य अवस्थाबारे सरकारले चासो नराखेको भन्दै आपत्ति जनाए।

सरकारी रबैया देखेर आफू लज्जित भएको समेत डा.भट्टराइले बताएका थिए।

अस्पतालबाट फर्केपछि डा.भट्टराईले यस्तो ट्विट गरेका छन्।

‘अरूको स्वास्थ्यका लागि आफ्नो जीवन जोखिममा राख्दै अनसनरत डा.गोेविन्द केसीको स्वास्थ्य गम्भीर बन्दैछ’, बाबुरामले ट्वीटरमा लेखेका छन्, ‘१९औं सत्याग्रहको १७औं दिनसम्म राज्यले उनको जायज माग र जोखिमउन्मुख स्वास्थ्यस्थितिबारे कुनै चासो नराख्नु अमानवीयताको पराकाष्ठा हो।’

यसअघि आजै साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पनि डा केसीलाई भेटर उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका लिए।


प्रतिक्रिया दिनुहोस्