अपहरणमा परेका भनिएका वडाध्यक्ष मःम पसलमा भेटिए

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ५ : ५१


सल्यान । अपहरणमा परेको आशंकामा प्रहरीले खोजी गरिरहेका एकजना वडाध्यक्ष मःम पसलमा भेटिएका छन् ।

अपरहणको आशंकामा प्रहरीले खोजी गरिरहेको अवस्थामा सल्यानको शारदा नगरपालिका–१३ का वडाध्यक्ष तुलसीराम रावत दिउँसो दाङमा फेला परेका हुन् ।

प्रहरीले उनलाई दाङ–सल्यान सडकखण्डअन्तर्गत पर्ने दाङको तुलसीपुर–७ मा पर्ने दाजुभाई मःम पसलबाट नियन्त्रणमा लिएको हो ।

वडाध्यक्ष रावत ४ दिनदेखि घर गएका थिएनन् । परिवारका सदस्यले सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेको थिएन । उनी आफू नै परिवारका सदस्यलाई फोन गर्ने गरेका थिए । पछिल्लो समय उनले आफ्ना छोरालाई फोन गरेर तत्काल २० हजार रुपैयाँ आफ्नो बैंक खातामा पठाइदिन भनेका थिए ।

तर, उनले आफू बसेको ठाउँ भने बताएका थिएनन् । गत शनिबार सल्यानको सितलपाटीबाट नाइट बस चढेर दाङको तुलसीपुरस्थित बीपी चोकमा झरेका वडाध्यक्ष रावल २ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि अपहरणको आशंकामा परिवारका सदस्यले प्रहरीमा निवेदन दिएका थिए ।

परिवारका सदस्यको निवेदन पछि कर्णाली प्रदेश प्रहरीले उनको खोजी तीब्र बनाएको थियो । कर्णालीसँग प्रदेश नम्बर ५ को प्रहरीले पनि वडाध्यक्ष रावतको खोजीका लागि टोली परिचालन गरेको थियो ।

रावतकै खोजीका लागि भनेर जिल्ला प्रहरी कार्यालय सल्यानको एक टोली दाङ पुगेको थियो ।

दाङ प्रहरीले रावतको मोबाइलको लोकेसन ट्रेसिङ गर्दा उनी तुलसीपुर–७ स्थित मःम पसलमा भेटिएका हुन् ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।


प्रतिक्रिया दिनुहोस्