विराटनगर । संयुक्त अरब ईमिरेट्समा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल)मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा विराटनगरबाट ३ जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले ३ जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ भट्टीमोड बस्ने ३८ वर्षका मुन्ना भनिने सत्यजित साह, विराटनगर–१७ रानी बस्ने ४२ वर्षीय जगदिश साह र विराटनगर–१५ बस्ने ३८ वर्षीय बैजनाथ साह छन् ।
आईपीएलमा अनलाइनमार्फत सट्टेबाजी गरिरहेको सूचनाका आधारमा प्रहरीले विराटनगरको भट्टीमोडबाट सत्यजित साहलाई पक्राउ गरेको थियो । उनले आफ्नै घरबाट मोबाइलमार्फत सट्टेबाजी गर्ने गरेका थिए ।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा थप २ जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद ६० हजार, मोबाइल सेट, ल्यापटप र मोटरसाइकल बरामद गरेको छ ।
पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।