बाबरी मस्जिद भत्काएको आरोप लागेका ३२ जनालाई भारतीय अदालतद्वारा सफाई

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ३ : १७


नयाँ दिल्ली । भारतको विशेष अदालतले २८ वर्षपछि प्रमाण नभेटिएको भन्दै बुधबार बाबरी मस्जिद भत्काएको आरोप लागेका सबै ३२ अभियुक्तलाई सफाइ दिएको छ।

भारतीय जनता पार्टीका बरिष्ठ नेता लालकृष्ण आडवानीसहित ३२ जनालाई आज सफाई दिइएको हो।

यस मुद्दामा पूर्व उपप्रधानमन्त्रीसमेत रहेका भाजपा नेता लालकृष्ण आडवानी, सोही पार्टीका मुरली मनोहर जोशी, उमा भारती, महन्त नृत्यगोपाल दास, कल्याण सिंह, सतिस प्रधान लगायत ३२ जनाविरुद्ध मुद्दा चलेको थियो।

सीबीआइको विशेष अदालतले कुनै ठोस प्रमाण नभएको भन्दै सबैलाई सफाई दिएको हो।

आड्वानी र जोशी भारतीय जनता पार्टीका पूर्व अध्यक्ष हुन् भने भाजपा नेता सिंह उत्तर प्रदेशका मुख्यमन्त्रीसमेत बनेका थिए।

सन् १९९२ मा भएको उक्त घटनामा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो । मस्जिद भत्काउने कार्यमा हिन्दू समर्थकलाई उक्साएको आरोप यी नेतामाथि लागेको थियो।

विशेष अदालतले सेप्टेम्बर २ मा सुनुवाई पूरा गरेको थियो । बाबरी मस्जिद मुद्दामा पहिले ४९ जना अभियुक्त थिए। त्यसमध्ये १७ जनाको मृत्यु भइसकेको छ।

फैसला सुन्न अभियुक्त अदालतमा हाजिर हुनुपर्ने नियम भएपनि आडवानी लगायत ६ जनालाई अदालतले भिडियो कन्फ्रेन्समार्फत हाजिर हुन सक्ने छुट दिएको थियो।

फैसलापछि हुन सक्ने अप्रिय घटनालाई मध्येनजर गर्दै अयोध्यामा ब्यापक मात्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

सन् १९९२ को डिसेम्बर २ मा अयोध्यास्थित बाबर मस्जिदलाई एउटा ठूलो भीडले भत्काएपछि भारतभर हिन्दू–मुश्लिम दंगा फैलिएको थियो।

गत कार्तिक महिनामा भारतको सर्वोच्च अदालतले अयोध्यास्थित राम मन्दिर–बाबरी मस्जिद विवादमा हिन्दुहरुको पक्षमा फैसला गरेको थियो। प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले विवादित जमिनमा राम मन्दिर बनाउन आदेश दिएको थियो।

हिन्दू पक्षले जमिनको स्वामित्व पाएसँगै त्यहाँ राम मन्दिर निर्माणको प्रक्रिया पनि सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस्