मलेसियामा नेपालीको अपहरण गरी नेपालमा फिरौती असुल गर्ने व्यक्ति काठमाडौंबाट पक्राउ

प्रकाशित मिति : कार्तिक ३, २०७७ सोमबार


काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालीको अपहरण गरी नेपालस्थित परिवारका सदस्यबाट फिरौती असुल गर्ने १ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तेह्रथुमको सोल्मामा जन्म घर भइ मोरङको सुन्दरपुरमा स्थायी घर भएका ४४ वर्षीय डेभिड भनिने दूर्गा बहादुर श्रेष्ठ छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पताल अगाडिबाट पक्राउ गरेको हो ।

मलेसियास्थित टप ग्लोब नामक कम्पनीमा क्यान्टिन (चमेना गृह) सञ्चालन गर्दै आएका दूर्गा बहादुरले वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालीलाई डराई धम्क्याइ रकम असुल गर्ने गरेका थिए ।

पछिल्लो समय उनले दाङको फहरुवा घर भइ वैदेशिक रोजगारीका लागि मलेसिया गएका मध्म रैदासको अपहरण गरी फिरौती असुलेका थिए ।

सीआईबीका अनुसार श्रेष्ठले भुटान माइती भएकी आफ्नी श्रीमती धनमाया श्रेष्ठ तथा ठेगाना यकीन भएका आफ्ना चालक श्याम नेपाली समेतको सहयोगमा मध्मको मलेसियामा अपहरण गरेका थिए ।

उनीहरुले मलेसियाबाट दाङमा रहेकी मध्मकी श्रीमतीसँग ६० हजार रिङगेट (करिब १६ लाख नेपाली) रुपैयाँ फिरौती मागेका थिए ।

मध्मको अपहरण गरी बन्धक बनाएको अवस्थामा मलेसियाबाट दूर्गाकी श्रीमती धनमाया र चालक श्यामले फोनमार्फत नेपालमा रहेकी मध्मकी श्रीमतीसँग फिरौती माग गरेका थिए ।

उनीहरुले उक्त रकम दूर्गा बहादुर श्रेष्ठको नाममा हिमालय बैंक लिमिटेडको खातामा जम्मा गर्न भनेका थिए । जसअनुसार मध्मकी श्रीमतीले आफूसँग भएको र ऋण लिएको गरी १५ लाख ९ हजार २ सय रुपैयाँ दूर्गा बहादुर श्रेष्ठको नाममा रहेको खातामा जम्मा पनि गरेकी थिइन् ।

तर, अपहरणकारीले मध्मलाई मुक्त गरेनन् । फिरौती बुझाउँदा समेत आफ्ना पति अपहरणमुक्त नभएपछि मध्मकी श्रीमतीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएकी थिइन् ।

मध्मकी श्रीमतीको उजुरीपछि सीआईबीले दूर्गाबहादुरबारे अनुसन्धान शुरु गरेको थियो । पछिल्लो समय उनी नेपाल आएको सूचना पाएपछि सीआईबीको टोलीले निगारानी बढाएको थियो ।

सोमबार श्रेष्ठ बा १४ च २११२ नम्बरको गाडी चढेर बाँसबारीबाट रानीपोखरीतर्फ गइरहेका थिए । सोही समयमा सीआईबीको टोलीले उनलाई कान्ति बाल अस्पताल अगाडिको सडकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको सीआईबीका उपनिर्देशक (एसपी) वेलबहादुर पाण्डेले जानकारी दिए ।

उनले मलेसियामा रहेका नेपालीबाट धेरै पहिलेदेखि नै डराई धम्काइ रकम असुली गर्ने गरेको पाइएका कारण सो सम्बन्धमा पनि अनुसन्धान शुरु गरिएको एसपी पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्