वीरगन्जमा कोरोना संक्रमित गर्भवतीले शल्यक्रियामार्फत जन्माइन बच्चा

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ११ : ४८


वीरगन्ज । पर्साको वीरगन्जमा एक कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया गरी प्रसूती गराइएको छ ।

वीरगन्ज हेल्थ केयर अस्पतालको प्रसूती विभागको टोलीले बिहान ६ बजेर ४० मिनेटमा २६ वर्षीया संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरी प्रसूती गराएका हुन् ।

शल्यक्रिया गरी प्रसूती गराइएकी महिला वीरगन्ज महानगरपालिका–२६ रामगढवाकी हुन् । शल्यक्रिया पछि आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

कोरोना संक्रमण देखिएकी उनलाई केही दिन अगाडिसम्म स्थानीय कोडिभ अस्पतालले भर्ना लिन मानेको थियो ।

संक्रमित गर्भवतीलाई अस्पतालले भर्ना लिन नमानेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि सोसम्बन्धमा स्थानीय प्रशासनले चासो दिएको थियो ।

अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजन दिएर घरमै राखिएकी उनलाई पछि नारायणी अस्पताल भर्ना गरिएको थियो ।

मंगलबार राति पेट दुख्न थालेपछि नारायण अस्पतालले शल्यक्रियाका लागि बुधबार बिहान वीरगन्ज हेल्थ केयरमा पठाएको थियो ।

प्रमुख जिल्ला अधिकारी आसमान तामाङले नारायणी अस्पतालकै समन्वयनमा निजी अस्पताल (वीरगन्ज हेल्थ केयर)मा संक्रमित गर्भवतीको शल्यक्रिया गरी प्रसूती गराइएको बताए ।

उनलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


तस्वीर– प्रतिकात्मक


प्रतिक्रिया दिनुहोस्